नौरते नेपाली
सिँजा (जुम्ला), भदौ २५ गते । जुम्लाको तिला गाउँपालिकामा बुधबार तोडफोड तथा तालाबन्दी गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाका अनुसार तिला गाउँपालिका –३ कुडारीका स्थानीय प्रदर्शनकारीले कार्यालय तोडफोड गरेको बताउनुभयो ।
उहाँका अनुसार मंगलबार एक सुत्केरी महिलालाई एम्बुलेन्समा ल्याउन चालकले अस्वीकार गरेपछि सोही आक्रोशमा तोडफोड र तालाबन्दी गरिएको हुन सक्ने उहाँको अनुमान छ । चालकको घरमा बुधबार बारखि परेको र मंगलबार मुनित गर्नुपर्ने भएकाले सुत्केरीलाई ल्याउन नमानेको उपाध्यक्ष बुढाले बताउनुभयो ।
गाउँपालिका कार्यालयको झ्याल, ढोका, सिसा, सिसि क्यामेरा, टिभि, पोषण कर्नर, सूचनापाटी तोडफोड गर्नुका साथै एम्बुलेन्स समेत लिएर गएको उहाँले जानकारी गराउनुभयो ।
तोडफोडपछि गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । जेनजी आन्दोलनको त्रासले सुरक्षाकर्मी उपस्थित नहुँदा थप क्षति भएको उहाँको बुझाइ छ । सार्वजनिक सम्पतिमा क्षति गर्नेलाई गाउँपालिकाले मुद्दा हाल्ने जनाएको छ । घटनापछि गाउँपालिकाको नियमित कामकाज प्रभावित भएको छ ।