काठमाडौँ, भदौ २५ गते। नेपाली सेनाले महाराजगञ्ज ईलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाली सेनाले चार जनासहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिज तथा व्यक्तिगत सामाग्रीहरु बरामद गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
विशेष सूचनाको आधारमा बालाजु माछापोखरी ईलाकाबाट थप एक नाल हतियार बरामद गरिएको छ। सेनाले हालसम्म ७३ नाल हतियार बरामद गरेको छ।
काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदिबन्दीको नेपाल प्रहरीसँग झडप भएकोमा हाल स्थिति नियन्त्रणमा आएको छ।
त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको छ। सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चार जनालाई पक्राउ गरेको छ।