• २५ भदौ २०८२, बुधबार

धादिङ कारागारमा गोली चल्यो, एक कैदीको मृत्यु

blog

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी ।

अस्मिता पोखरेल 

धादिङबेंसी, भदौ २५ गते । धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ ।

फायरिङको क्रममा एक कैदीको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरुको उपचार धादिङ अस्पतालमा भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम ठेगाना नखुलेको धादिङ अस्पतालले जनाएको छ । 

घाइते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका –१ का कपिल परियार, देवराज अधिकारी, नीलकण्ठ –७ का रामशरण परियार, गजुरी–८ का मेमबहादुर तामाङ, धुनीबेशी –७ का डम्बरबहादुर दाहाल, गजुरी –७ का कृष्णबहादुर मोक्तान, नेत्रावती डबजोङ –५ का विकास गुरुङ रहेका छन् । 

कारागारमा कैदीहरुले रिहाइको माग गर्दै आगजनी गर्ने प्रयास गर्नुका साथै नाराजुलुस र ढुंगामुढा गरेका थिए । आन्दोलनकै क्रममा गेटको ताला तोडी भाग्न खोजेपछि सेनाले नियन्त्रणका लागि गोली चलाएको जनाएको छ ।

कारागार परिसरमा अहिले थप सुरक्षा सतर्कता अपनाइएको छ । सेना र प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ । 

यसैबिच उत्पन्न हुन सक्ने असहज परिस्थितलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म नीलकण्ठ नगरपालिकाभित्र कफ्र्यू लागूहुने जनाएको छ ।

प्रशासनले कफ्र्यू अवधिभर जिल्ला सदरमुकाम धादिङवेशी पूर्वतर्फ इजारा चौतारा, पश्चिममा धादिङवेशी–सल्यानटार सडक, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनले कारागार सुरक्षा र जिल्लाको समग्र शान्ति–सुरक्षामा खलल पुग्ने अवस्था देखिएकाले कफ्र्यू जारी गर्नुपरेको जनाएको छ । आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकट देखाउने यात्रुको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ ।