• २५ भदौ २०८२, बुधबार

पोर्चुगल र फ्रान्सको जित, अर्जेन्टिना इक्वेडरसँग पराजित

blog

गोल गरेपछि पोर्चुगलका खेलाडी । तस्बिर : रोयटर्स

काठमाडौँ, भदौ २५ गते । पोर्चुगल र फ्रान्सले फिफा विश्वकप युरोपियन छनोटमा जित निकालेका छन् ।

समूह ‘एफ’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले हङ्गेरीलाई ३–२ गोलले हरायो । यस्तै मङ्गरबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले आइसल्यान्डलाई २–१ गोलले पराजित गरेको छ । 

पोर्चुगललाई जिताउन बर्नार्डो सिल्भा, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआओ कान्सेलोले गोल गर्नुभयो । हङ्गेरीका लागि दुवै गोल बर्नाबास वर्गाले गर्नुभयो । 

जितसँगै समूह ‘एफ’ को दुई खेलबाट ६ अङ्क बनाएको पोर्चुगल शीर्षस्थानमा छ । पराजित हङ्गेरी समान खेलबाट एक अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

यस्तै फ्रान्सलाई पुनरागमन जित दिलाउन केलियन एमबाप्पे र ब्राडली बार्कोलाले गोल गर्नुभयो । आइसल्यान्डका एन्ड्री गुडजोनसेनको सुरुवाती गोल सान्त्वना बन्यो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अङ्क बनाएको फ्रान्स समूह ‘डी’ को शीर्षस्थानमा छ । पहिलो हार खेपको आइसल्यान्डको समान खेलबाट तीन अङ्क छ । 

अर्जेन्टिना पराजित

यस्तै अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा इक्वेडरसँग हार खेपेको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना इक्वेडरसँग १–० गोलले पराजित भएको हो ।

इक्वेडरको कठिन जितमा एनर भ्यालेन्सियाले गोल गर्नुभयो । हारेपनि अर्जेन्टिना यसअघिनै विश्वकपमा छनोट भईसकेको छ । १८ खेलबाट ३८ अङ्क बनाएको अर्जेन्टिना शीर्षस्थानमा छ । समान खेलबाट २९ अङ्क बनाएको इक्वेडर दोस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा बोलिभियाले ब्राजिललाई १–० र कोलम्बियाले भेनेजुएललाई ६–३ गोलले पराजित गरेको छ । एजेन्सी