फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २५ गते । आन्दोलनको क्रममा मङ्गलबार जेनजीहरुले आगो लगाएका दुई भवनमा बुधबार जलेको अवस्थामा दुई महिलाका शव फेला परेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र उहाँका भाइ ध्रुव थापाको भवनमा दुई महिलाको शव भेटिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई शव पोस्टमार्टमका लागि पठाइए पनि प्रक्रियाअघि बढाउन समस्या भएको छ । अस्पतालका सूचना अधिकारी सुशील अर्यालले शवको मुचुल्का, पोस्टमार्टम गर्न सिफारिसपत्रजस्ता कागजात नहुँदा प्रक्रियाअघि नबढेको जानकारी दिनुभयो ।
पछिल्लो आन्दोलनका क्रममा घाइतेहरुको यकिन तथ्याङ्क छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेत तोडफोड र आगजनी भएपछि क्षतिको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । क्षेत्रीय अस्पतालमा २२ घाइते उपचारका लागि लगिएकोमा १६ जना डिस्चार्ज भइसकेका छन् ।
अर्याल भन्नुहुन्छ, “यहाँ २२ जना घाइते ल्याइएकोमा १६ जना घर गइसक्नुभएको छ । बाँकी चार जनाको आइसियुमा र दुई जनाको अर्थाेपेडिक वार्डमा उपचार भइरहेको छ ।” नेपाली सेना सडकमा आएपछि बुधबार पोखराको अवस्था सामान्य बन्दैगएको छ ।
न्यूरोडमा रहेको भाटभटेनी सुपरमार्केटको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार दिउँसो १२ बजेतिर पोखरा महानगरअघि प्रहरीसँग घम्साघम्सीपछि आगजनी र तोडफोडमा उत्रिएका आन्दोलनकारीले पोखराको ९५ प्रतिशतभन्दा बढी सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
दिउँसो २ बजेतिरबाट सुरक्षा निकायहरु पछि हटेपछि आन्दोलनकारीले केही व्यवसायी, राजनीतिज्ञका घरसहित सरकारी कार्यालयहरु जलाएका थिए । महानगर तोडफोडपछि आन्दोलनकारीले महानगर प्रमुख धनराज आचार्यले नयाँबजारमा रहेको निवासमा समेत तोडफोड गरी आगो लगाएका थिए ।
मङ्गलबार साँझ आन्दोलनकारीले न्यूरोडमा रहेको भाटभटेनी सुपरमार्केट, लेकसाइडका केही रिसोर्ट, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित विभिन्न मन्त्रालयहरु, जिल्ला प्रशासन कार्यालय कास्की, प्रदेश प्रमुखको कार्यालय गण्डकी, जिल्ला अदालत कास्की, मालपोत कार्यालय कास्कीसहितका कार्यालय तोडफोडसहित आगजनी गरेका छन् ।
सरकारी कार्यालयका सवारीहरु, कागजात जलाएका उनीहरुले कार्यालयहरुमा तोडफोडसमेत गरेका छन् । आन्दोलनकारीले पोखरा महानगरका सबैजसो वडा कार्यालयमा समेत आगजनी गरेका छन् । साँझ आन्दोलनकारीले नदीपुरमा रहेको प्रदेशसभा भवनमा पनि आगो लगाएका थिए ।