• २५ भदौ २०८२, बुधबार

सुर्खेतमा जेनजी आन्दोलन: सरकारी कार्यालय र नेताका घरमा तोडफोड

blog

वीरेन्द्रनगरमा भएको तोडफोड र आगजनी भएका संरचना। तस्बिरः : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, भदौ, २५ गते। जेनजी आन्दोलन मंगलबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा उग्ररूप लिएको छ। बिहान शान्तिपूर्ण जुलुसबाट सुरु भएको आन्दोलन साँझसम्म पुग्दा पार्टी कार्यालय, सरकारी अड्डा, नेताका निजी घरदेखि पेट्रोल पम्प र वडा कार्यालयसम्म ध्वस्त भएका छन्।

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीले मंगलबार बिहानै प्रदेश सभा अगाडि शान्तिपूर्ण जुलुस निकालेका थिए। केही समयसम्म बजार सामान्य रहे पनि करिब १० बजेतिर मंगलगढी चोकमा ठूलो भीड जम्मा भएको थियो। नाराबाजीबाट सुरु भएको जुलुस अन्तिममा तोडफोडमा परिणत भएको थियो। 

प्रदर्शनकारीले नेकपा (एमाले)को हटियालाइनस्थित पार्टी कार्यालय तोडफोड गरेपछि भीड अनियन्त्रित भएको थियो। 

अनियन्त्रित भीडले कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा आक्रमण गरेको थियो। यी तीनै दलका कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपछि राप्रपाको कार्यालयमा समेत तोडफोड र आगजनी भयो।


पार्टी कार्यालयपछि प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्दा सुरक्षाकर्मीले रोकेपछि नापी र प्रदेश लेखा नियन्त्रण कार्यालयमा आक्रमण गरेका थिए।। साँझसम्म प्रदर्शनकारीले वीरेन्द्रनगर नगरपालिकाका १, २, ३, ६, ८, १० र ११—मा आगजनी र तोडफोड गरे।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा आक्रमण हुँदा गोली चल्यो र एक जनाको मृत्यु भयो। प्रदर्शनकारीले भाइ डम्बरबहादुर खड्का, मुख्यमन्त्री निवास, नगरप्रमुख मोहनमाया ढकालको घर र उपप्रमुख नीलकण्ठ खनालको घर पूर्णरूपमा जलेर नष्ट भए। 

बुधबार बिहानसम्म वीरेन्द्रनगरको जनजीवन सामान्य बन्दै गएको छ। सडकमा सेना परिचालन गरिएको छ।