• २५ भदौ २०८२, बुधबार

झापाको जनजीवन सामान्य बन्दै

blog

सुरुङ्गा (झापा), भदौ २५ गते। नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि यहाँको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।

अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेनाको सुरक्षा फौजले सुरक्षा गस्ती बढाएसँगै झापाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज बिहानैदेखि नेपाली सेनाले सडकमा निस्किएर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन ‘माइकिङ’ गर्दै सुरक्षा गस्ती बढाएको हो । 

सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्यमुख्य ठाउँमा नेपाली सेनाको सुरक्षा गस्तीले माइकिङ गर्दै बिनाकारण हिँड्डुल गर्नेलाई घर फर्काइरहेको प्रजिअ अधिकारीले बताउनुभयो । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको उहाँले जानकारी दिनुभयो । 

मङ्गलबार प्रदर्शनकारीले झापाका एक दर्जन बढी सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयसहित राजनीतिक नेतृत्वका घरमा तोडफोड र आगजनी गरेपछि तनावग्रस्त बनेको यहाँको जनजीवन नेपाली सेनाले सुरक्षा गस्ती बढाएसँगै बन्दै गएको हो । रासस