सन्तोष दहित
दाङ, भदौ २५ गते। जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भए पनि लुम्बिनी प्रदेशको प्रशासनिक भवन सुरक्षित छ।
प्रदेश प्रशासकीय भवनसहितका सरकारी संरचनामा थप सुरक्षा दिन नेपाली सेना तैनाथ छ।
दाङको अर्जुनखोलास्थित ज्वाला गण दलका सेनानी मेजर राजकुमार गिरीका अनुसार प्रशासनिक भवन सुरक्षाका लागि सेना परिचालन गरिएको हो।
उहाँका अनुसार हाल दाङमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती सञ्चालन गर्दै आएका छन्।
जेनजी आन्दोलनकै क्रममा दाङका दर्जनौं सरकारी तथा पार्टी कार्यालयमा क्षति पुगेको भए पनि प्रदेशको प्रमुख प्रशासनिक संरचना सुरक्षित रहनु सकारात्मक पक्ष भएको सरोकारवालाले बताएका छन्।
आन्दोलनका बेला उत्पन्न अराजक गतिविधि नियन्त्रणमा लिन सेनाले सुरक्षाको कमाण्ड लिएको हो।
सुरक्षा निकायको सक्रियतापछि दाङमा अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको स्थानीयवासीले बताएका छन्। सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले तोडफोड, आगजनी र अन्य अप्रिय घटनामा कमी आएको देखिएको छ।
यसअघि आन्दोलनकारीले दाङसहितका विभिन्न जिल्लामा सरकारी कार्यालय, न्यायालय, पार्टी कार्यालय तथा स्थानीय तहका संरचनामा आगजनी र तोडफोड गरेका थिए। तर, प्रशासनिक भवनमा सेना तैनाथ भएपछि ठूलो क्षति हुनबाट जोगिएको हो।