चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २५ गते । ताप्लेजुङमा जेनजी पुस्ता (समूह) ले गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको महत्त्वपूर्ण कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ ।
मङ्गलबार राति करिब साढे ९ बजेतिर सो समूहले गरेको तोडफोड र आगजनीबाट नगरपालिका कार्यालयभित्र रहेको कागजात, फर्निचरसहितका सामग्री र भौतिक संरचनामा नराम्ररी क्षति पुगेको हो ।
नगरपालिका स्रोतका अनुसार कार्यालय भवनको सिसाहरू तोडफोडबाट ध्वस्त बनाइएको छ । यस्तै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कक्षसहित विभिन्न फाँट तथा शाखामा तोडफोड र आगजनी गरिएको छ । तोडफोड र आगजनीबाट विभिन्न फाँटमा रहेका महत्त्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरसहितका उपकरण, फर्निचर लगायतका सामग्री नष्ट गरिएको छ ।
प्रत्येक कक्ष, फाँट र शाखाहरू रहेका कोठाका झ्याल, ढोका लगायतका भौतिक संरचना जेनजी समूहले ध्वस्त बनाएका छन्। त्यस्तै नगरपालिकाको दुई वटा वारुणयन्त्र (दमकल), एउटा टिप्पर र एउटा जेसिभी उपकरणमा पनि सो समूहले तोडफोड गरी क्षति पुर्याएका छन् ।
यसैगरी, जेनजी पुस्ताकै नाममा मङ्गलबार राति नै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको जिलला कार्यालयसमेत तोडफोड गरिएको छ ।
उक्त समूहले पार्टी कार्यालयहरूमा प्रवेश गरी टेबल, कुर्सी, दराज लगायतका फर्निचर सामग्री नष्ट गरेका छन् । कार्यालयमा रहेको महत्त्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरसहितका सामग्रीसमेत सो समूहले तोडफोड गरी नष्ट गरेका सम्बन्धित पार्टीले जनाएका छन् ।
त्यस्तै जेनजी समूहकै नाममा मङ्गलबार रातकै समयमा फक्ताङ्लुङ गाउँपालिकास्थित निर्माणाधीन माथिल्लो तमोर जलविद्युत् आयोजनाको दुई वटा टिप्पर र भण्डारण कोठा (स्टोर रुम) मा आगजनी गरी क्षति गरिएको बताइएको छ ।
जेनजी समूहको नाममा मङ्गलबार दिउँसो भने सदरमुकाम फुङ्लिङमा शान्तिपूर्ण रूपमा नाराबाजी र प्रदर्शन गरिएको थियो।