प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २५ गते । कारागार कार्यालय गौर, रौतहटबाट दुई सय ६० जना कैदीबन्दी मङ्गलवार राति फरार भएका छन् । फरार भएकामध्ये दुई महिला र दुई सय ५८ पुरुष रहेका छन् ।
जेनजी प्रदर्शनको मौका पारेर कारागारबाट कैदीबन्दीहरू फरार हुन सफल भएको कारागार कार्यालय गौर, रौतहटका प्रमुख मनिष झाले जानकारी दिनुभयो ।
गौर कारागारमा २९१ जना कैदी बन्दी रहेकोमा ३१ जना फरार नभइ कारागारमै बसेको कारागार कार्यालय रौतहटले जनाएको छ । फरार दुई सय ६० जना कैदी बन्दीमध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कारागार कार्यालय रौतहटका प्रमुख झाले बताउनुभयो ।
मुख्य प्रवेशद्वारमा नेपाली सेना भए पनि पछाडीबाट कैदीबन्दी फरार भएको कारागार कार्यालय रौतहटले जनाएको छ । अहिले कारागार कार्यालय रौतहटमा ६२ जना कैदीबन्दी रहेका छन् । ६२ जना कैदी बन्दी मध्ये ६ जना महिला रहेका छन् । फरार कैदीबन्दिको खोजी कार्य जारी रहेको कारागार कार्यालय रौतहटका प्रमुख प्रमुख झाले जानकारी दिनुभयो ।