• २५ भदौ २०८२, बुधबार

सर्लाही जिल्लाभर कर्फ्यु आदेश, कारागारमा उच्च सुरक्षा

blog

जिल्ला प्रशासन कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, भदौ २५ गते ।
सर्लाही जिल्लाभर अर्को आदेश जारी नहुन्जेलसम्मका लागि बुधबार बिहानदेखि कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बुधबार बिहान ८ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म स्थाानीय प्रशासन ऐन, २०२८ को दफा (क) र (ख) बमोजिम जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिनुभयो । कर्फ्युको समयमा आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, घेराउ र बैठक गर्न निषेध रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण भइ जनजीवन अस्तव्यस्त भएको यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सबै जना शान्त रही आ–आफ्नो घर÷स्थानमा सुरक्षित रहन अपिल गर्नुभएको छ ।

यसैबिच, सदरमुकाम मलङ्गवास्थित कारागारबाट बुधबार बिहान कैदीबन्दी भाग्न खोजेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । कारागारको चारै दिशामा व्यापक मात्रामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

कैदीबन्दीले कारागारभित्र आगजनीसमेत गरेका छन् । मलङ्गवा कारागारमा तपस्वी रामबहादुर बम्जनसहित ३७० जना भन्दा बढी कैदीबन्दीलाई राखिएको छ ।

कैदीबन्दीलाई साम्य पार्न प्रहरीले बारम्बार अश्रुग्यास प्रहार गरिरहेको छ । कैदीबन्दीले कारागारको माथिल्लो भागमा गरेको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिने काम भइरहेको कारागारका कर्मचारी असरफ हुसैन गद्धीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले कारागार सुरक्षाकर्मीको नियन्त्रणमै रहेको बताउनुभयो । उहाँका अनुसार बुधबार जिल्लाको कुनै पनि स्थानमा प्रदर्शन भएको छैन ।

मङ्गलबारको प्रदर्शन, तोडफोड र आगजनीबाट भने व्यापक मात्रामा क्षति पुगेको छ । लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती र बरहथवा नगरपालिकाको कार्यालयमा आगजनी भएका छन् ।

यि पालिकाका विभिन्न वडा कार्यालयहरुमा पनि आगजनीबाट क्षति पुगेको छ । जनप्रतिनिधि चढ्ने सरकारी गाडी आगजनीबाट क्षतिग्रस्त भएका छन् ।

लालबन्दी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने तीनवटै गाडीसहित स्काभेटरमा समेत आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । लालबन्दी, हरिवन र बरहथवाका नगरप्रमुखको निजी घरमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

कबिलासी नगरपालिकास्थित प्रहरी चौकी कबिलासी विस्थापित भएको छ । नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सवारी साधनमा व्यापक तोडफोड भएको छ ।

कफ्र्यू र प्रदर्शनपछिको त्रासका कारण जिल्लामा बुधबार पनि हाटबजार ठप्प रहेका छन् भने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्था बन्द रहेका छन् ।