• २५ भदौ २०८२, बुधबार

कृषि कर्जा ब्याज अनुदानमा किसानको सहभागिता शून्यप्राय

blog

भोजपुर, भदौ  २५  गते ।  प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति  किसानको आकर्षण नभएको पाइएको छ । 

प्रदेश सरकारले अनुदानको विकल्पमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको भए पनि यसमा सहभागी किसानको सङ्ख्या शून्यप्रायः छ ।

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममार्फत हालसम्म एक जना किसानले मात्र ब्याज अनुदानमा ऋण लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ऋणका लागि सात जना किसानले आवेदन गरेका थिए ।

 केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार किसानका व्यावसायिक योजना र धितोका आधारमा रु दश लाखदेखि तीन करोडसम्म ब्याज अनुदान प्रदान गर्ने व्यवस्था छ । कृषि कर्जामा ब्याज अनुदानका लागि भोजपुरमा सात वटा बैंकका नौ वटा शाखा सूचीकृत भएका छन् । 

यसैबीच, बैंकको लामो र झन्झटिलो प्रक्रियाको कारण ऋण लिन समस्या रहेको स्थानीय किसान नरबहादुर बस्नेतले बताउनुभयो । धितो मूल्याङ्कनमा समस्या हुँदा यो कार्यक्रममा किसान सहभागी नभएका उहाँले सुनाउनुभयो । रासस