• २५ भदौ २०८२, बुधबार

जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागे

blog

जिल्ला कारागार जुम्ला । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), भदौ २५ गते ।
जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगार भित्र रहेका हतियार र दाउराको प्रयोग गरी मङ्गलबार राति ११ बजेतिर कैदिबन्दी भागेको प्रहरीले जनाएको छ । भागेका ४१ जना कैदिबन्दी ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य ३६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताउनुभयो ।

जेनजी आन्दोलनको मोका छोपि रातिको समयमा कैदिबन्दी भागेका हुन् । डिउटीमा रहेका प्रहरी र जेलरमाथि हातपात गर्दै कारागारमा रहेका कैदिबन्दी भागेको उहाँको भनाइ छ । ९७ जना कैदीबन्दीमध्ये पाँच जना महिला र ९२ जना कैदिबन्दी कारागरामा रहेका थिए ।

यसैगरी, जेनजी आन्दोलनका क्रममा जुम्लामा लाखौँको क्षति भएको छ । जुम्लामा रहेका प्रमुख पार्टी कार्यालय र चन्दननाथ नगरपालिकामा आगजनि र तोडफोड गरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेमकिपा, राप्रपाको पार्टी कार्यालय र चन्दननाथ नगरपालिकाको कार्यालय तथा सवारी साधनहरु जेनजीहरुले तोडफोड तथा आगजनी गरेको रेग्मीले बताउनुभयो ।

क्षतिका विवरण प्राप्त भई नसकेको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिकामा रहेका गाडि र दमकल तोडफोठ भएको प्रहरीको भनाइ छ । प्रहरी र सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ–वस्तीमा खोजतलासी तीव्र बनाएका छन् ।

स्थानीय बासिन्दालाई पनि सशंकित गतिविधि देखिए तत्काल खबर दिन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै कारागारमा भएको कमजोरीबारे छानबिन सुरु गर्ने जनाएको छ । अहिले फरार कैदीको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।