• २५ भदौ २०८२, बुधबार

‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने अफर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २५ गते । चलचित्र ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने निर्माण पक्षले ‘अफर’ ल्याएको छ । चलचित्र प्रदर्शन भएको एक महिनापछि दर्शकका लागि ‘सुनको मोहर’ जित्ने अफर ल्याएको हो ।

देशका चार वटा हलमा गएर चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्ने छन् । चितवनको ‘म्याङ्गो जनज्योति सिनेमा’, सामाखुसीको ‘क्युएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्युरोडको ‘रञ्जना सिनेप्लेक्स’ मा गएर चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्ने छन् ।

म्याङ्गोमा चलचित्र हेर्नेमध्ये तीन जना तथा अन्य हलमा चलचित्र हेर्नेमध्ये दुई/दुई जनाले यो पुरस्कार प्राप्त गर्न सक्ने छन् ।

दर्शकले चलचित्रको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्ने छ । भदौ २३ गतेदेखि असोज ११ गतेसम्म चलचित्र हेर्ने दर्शकमध्ये नौ जनाले यो पुरस्कार जित्न सक्ने छन् । भदौ २३ गतेभन्दा अगाडि चलचित्र हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेकामा पनि यो उपहार योजनामा सहभागी हुन पाउने निर्माण पक्षले बताएको छ ।