• २५ भदौ २०८२, बुधबार

तोडफोडसँगै जले सरकारी र पार्टी कार्याय

blog

घोराहीमा प्रदर्शनकारीले जलाएको फोहोर सफा गर्दै । तस्बिर : लीलाधर वली

घोराही, भदौ २५ गते । जेनजीहरुको प्रदर्शनका कारण जिल्लाका घोराही, तुलसीपुर र लमहीमा रहेका सरकारी कार्यालय, पार्टी कार्यालयसँगै नेताहरु घरमा तोडफोडसँगै आगजनी भएको छ । प्रदर्शनकारीले ठूला दलका जिल्ला पार्टी कार्यालय, सरकारी कार्यालय, उपमहानगरपालिका र वडा कार्यालयसँगै नेताका घर–घरमा तोडफोड गरेका छन् ।

जिल्लाको प्रमुख प्रशासनिक केन्द्र घोराहीमा जिल्ला समन्वय समिति, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, घोराही उपमहानगरपालिका, सडक पूर्वाधार विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,जिल्ला टाफिक प्रहरी कार्यालयलगायतका कार्यालयमा तोडफोडसँगै आगजनी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४, १५ र १८ नं. वडा कार्यालय, नगर विकास समितिको कार्यालय र विपीचोकमा रहेको विपीको शालिकमा तोडफोड एवम् आगजनी गरिएको छ ।

त्यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय तोडफोडसँगै कार्यालयमा रहेका सामाग्री बाहिर निकालेर प्रदर्शनकारीले आगजनी गरेका थिए । आगजनीका कारण नापी कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर भएको कार्यालय प्रमुख पुरन चौधरीले जानकारी दिनुभएको छ । घोराहीमै रहेको घरेलु तथा साना उद्योग कार्यालयमा आगजनीका कारण सम्पूर्ण कागजातसँगै एउटा गाडी र चार वटा मोटरसाइल जलेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले सरकारी संरचनासँगै निजी क्षेत्रबाट सञ्चालित होटल मालाइनमा पनि तोडफोड र आगजनी गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत आगजनी गरेका प्रदर्शनकारीले बजारको चोक–चोकमा रहेका ट्राफिक आईल्याण्ड, चोक–चोकको प्रहरी विट र नेताका सालिकमा समेत तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा तोडफोड र आगजनी भएको भन्दै अहिले क्षतिका विवरण भन्न सकिने अवस्था नरहेको बताउनुहुन्छ ।

यसैगरी, प्रदर्शनकारीले तुलसीपुरमा रहेको तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, उच्च अदालत, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयलगायतका ठाउँमा तोडफोड र आगजनी गरेका छन् । देउखुरी क्षेत्रमा लमही नगरपालिका र गढवा गाउँपालिकासँगै अन्य सरकारी कार्यालय र मन्त्रीका क्वाटरमा आगजानी भएको र त्यसको वितरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।