जेनजी पुस्ताले गरेको दुई दिनको आन्दोलनले मुलुकका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को शक्तिशाली सरकार ढलेको छ । सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको दोस्रो दिन राजीनामा दिएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । आन्दोलनकारीका प्रमुख माग सम्बोधन भएकाले मुलुकलाई थप अराजकतामा जान नदिन संवाद र सहमतिका लागि ढिला गर्नु हुँदैन । सोमबार र मङ्गलबार सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न ठाउँमा अत्यन्तै दुःखद घटना भए । एकाएक शान्ति खलबलियो । हिंसा, आगजनी र तोडफोडका घटनाले जनजीवन प्रभावित हुनुका साथै ठुलो भौतिक क्षति भएको छ । ‘जेनजी’ पुस्ताले आह्वान गरेको प्रदर्शनमा दुई दिनमा २३ जना युवकको ज्यान जानुका साथै तीन सय जनाभन्दा बढी घाइते भए । यी घटनाले मुलुक नै स्तब्ध भएको छ । मुलुक एकाएक नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार राजीनामा दिनुभयो । उहाँको राजीनामा स्वीकृत भइसकेको छ । गृहमन्त्री रमेश लेखकले सोमबार १९ जना युवकको ज्यान गएपछि नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । सोमबार राति बसेको मन्त्रीपरिषद्को बैठकले जेनजी पुस्ताको माग सम्बोधन गर्दै सामाजिक सञ्जाल सुचारु गरेको थियो । सरकारले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेललगायतले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मुलुकभर सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिक हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । मुलुकको वर्तमान परिस्थितिबारे उहाँले गम्भीर चिन्ता व्यक्त गर्न‘भएको छ । राष्ट्रपति पौडेलले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्न‘भएको छ । उहाँले आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई आग्रह गर्न‘भएको छ । प्रदर्शनका क्रममा नागरिकले ज्यान गुमाउनु परेको र यस्तो अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनुभएका परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै उहाँले मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गर्नुभएको छ ।
सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आह्वानमा देशका विभिन्न स्थानमा भएको प्रदर्शनमा मृत्यु भएकाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । जेनजी पुस्ताले सामाजिक सञ्जाल सुचारु गर्नेलगायतका माग राखेकाले तत्काल सामाजिक सञ्जाल खुला गरिसकिएको छ । ओली नेतृत्वको वर्तमान सरकारले राजीनामा दिइसकेको छ । जेनजी प्रदर्शनका अगुवा सुधन गुरुङले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई त्यस्तो समूहले हिंसात्मक गतिविधि गरेका कारण दुःखद घटना हुन पुगेको बताउनुभएको छ । जेनजी पुस्ताको सकारात्मक भावना र चाहनालाई बेवास्ता गर्न मिल्दैन तर यो पुस्ताको नाममा गर्न सक्ने अवाञ्छित गतिविधिप्रति सबै सचेत हुन आवश्यक छ । धैर्य र संयमता नगुमाई जेनजी पुस्तालाई विधिसम्मत ढङ्गले परिचालन गर्न र उनीहरूका जायज माग सम्बोधन गर्न सबै पक्ष सचेत हुन जरुरी छ ।
राष्ट्रपति पौडेल मङ्गलबार आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउनु आह्वान गर्नुभएको छ । उहाँले वार्ताबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको छ । यसै गरी नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन सबैमा अपिल गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मङ्गलबार जारी गरेको अपिलमा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ । आन्दोलनका क्रममा घाइते भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । “देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,” सेनाको अपिलमा भनिएको छ, “यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौँ ।” नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहो¥याएको छ ।