• २५ भदौ २०८२, बुधबार

भक्तपुरको मुपात्र र याँमता जात्रा सुरु

blog

फाइल तस्बिर

लक्ष्मी गारु

भादगाउँ (भक्तपुर), भदौ २५ गते । इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र र याँमता जात्रा मङ्गलबारबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ । 

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ लगाई सिँगारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीन पटक घुमेर तरबारले हान्ने गर्छन् ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी नगर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको टोलहरूमा परिक्रमा गराइन्छ । 

जात्राको दोस्रो दिन साँझ गोमारीका मानन्धर समुदायको याँमतासँगै चोछेँ टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीका मानन्धर समुदाय छुमा गणेश मन्दिर गएर सुकुन्डा बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछेँ टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आआफ्नो  द्योःछे (देवगृह) मा पु¥याइन्छ ।

जात्राको अन्तिम दिन टौमारीको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट बलि पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोलहरू तपालछीँ र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुन्डा बालेर आउँछन् । त्यही सुकुन्डाबाट बुलुचास्थित ढुङ्गेधारामा एक जोडा याँमता बाल्छन् । बालिसकेपछि याँमतासँगै टौमारीको आकाश भैरवको अर्को स्वरूप मसान भैरवको खट जात्रा गारिन्छ । जात्रामा नायखिङ (खड्गी समुदायको विशष) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

भैरवको खटजात्रा गरेपछि स्थानीय लाकुलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपाडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गर्छन् । टौमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन् । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ । एक जना पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ । जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरूलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मुपात्र जात्रा गरिन्छ ।