• २४ भदौ २०८२, मङ्गलबार

प्रदर्शनमा राजनीतिक दलका युवा सहभागी

blog

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गरिएको प्रदर्शन। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २४ गते। ताप्लेजुङमा मङ्गलबार ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा राजनीतिक दलमा आवद्ध युवा सहभागी भएका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेस निकट युवा सङ्गठनमा आवद्ध युवा नै प्रदर्शनमा सहभागी भएका हुन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछिको विरोध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गरेको दमनकाविरुद्ध मङ्गलबार सदरमुकाम फङ्लिङमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल र कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवाहरु सहभागी भएका छन्।

यस्तै नेविसङ्घ, अनेरास्ववियुजस्ता सङ्गठनमा आवद्ध विद्यार्थीसमेत सहभागी भएका छन्। त्यस्तै नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालमा आवद्ध युवाहरु पनि सहभागी भएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध युवा तथा कार्यकर्ता प्रदर्शनमा सहभागी भएका छन्। 

प्रदर्शनमा राष्ट्रिय जनमुक्ति पार्टी, पहिचानवादी मोर्चा लगायतका दल तथा सङ्गठनमा आवद्ध कार्यकर्ता, युवासमेत सहभागी भएका देखिन्थे। स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका युवा, विद्यार्थीले सरकार र नेतृत्वविरुद्ध चर्को नाराबाजी गरेका छन्। फुङ्लिङ बजारको वीरेन्द्र चौकदेखि सुरु भएको प्रदर्शन टुक्रेबजार, कोप्चे, तोक्मेडाँडा, हेलिप्याड हुँदै जिल्ला प्रशासन कार्यालय, फुङ्लिङ नगरपालिका कार्यालयक्षेत्र परिक्रमा गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय र फुङ्लिङ नगरपालिका कार्यालय अगाडि प्रदर्शनकारीले चर्को नाराबाजी गरे पनि प्रदर्शन शान्तिपूर्ण भएको छ। यता सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ताप्लेजुङका तीन स्थानीय तहले शोक विदा दिएका छन्। 

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाले शोक विदा दिएका कारण मङ्गलबार पालिका कार्यालय र मातहतका कार्यालय, शिक्षण संस्था साथै अन्य सङ्घ संस्थाका कार्यालय बन्द भएका छन्।