काठमाडौं, भदौ २४ गते । काठमाडौं जिल्लाको तारेकश्वर नगरपालिका वडा नं. ४ मा रहेको तारेकेश्वर सिट हस्पिटलमा आन्दोलनका क्रममा घाइते भई उपचारमा आएका १५ मध्ये एकजनाको निधन भएको छ ।
मङ्गलबार काठमाडौंको तारेकश्वर नगरपालिका वडा नं. ११ र बालाजु क्षेत्रमा सुरक्षाकर्मीसँगको झडपमा घाइते भएकाको सो अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।
अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीका अनुसार, उपचारमा आएका १५ भन्दा बढी छन्, त्यसमध्ये एक जना २५ वर्षको धीरज श्रेष्ठको निधन भएको छ । श्रेष्ठको घाँटीमा गोली लागेको थियो ।
अन्य दुईजना घाइतेको शल्यक्रिया गरेर गोली निकालिएको छ र उनीहरूकाे सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।
उपचारमा आएकामध्ये तीनजनाको उपचारपछि डिस्चार्ज गरिएको छ । अस्पतालमा स्थानीयबासीको भीड लागेको छ । मंगलबारको प्रदर्शनमा तारकेश्वर नगरपालिकाको वडा नं. ११ को वडा कार्यालयसँग रहेको ट्राफिक प्रहरी कार्यालय र बालाजुमा रहेको प्रहरी कार्यालयमा आगजनी भएको छ ।
यसैबीच, नेपाली कांग्रेसको वडा नं. ४ रहेको पार्टी कार्यालयमा पनि आगजनी भएको छ ।