खेमराज सापकोटा
मोरङ, भदौ २४ गते ।जेनजी पुस्ताले मोरङ जिल्लाका विभिन्न स्थानमा भइरहेको आन्दोलन र त्यस क्रममा हिंसात्मक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मङ्गलबार बिहान ११ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने जनाउनुभएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले तोकिएको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्णरूपमा निषेध गरिएको हो । कर्फ्यु आदेश तोडफोड वा उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।
निषेधित क्षेत्रहरुमा प्रदेश सभा क्षेत्र पूर्व नेपाल राष्ट्र बैंकदेखि पश्चिम कोशी अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय उत्तर रोडशेष चोकदेखि दक्षिण जतुवा चोक (कोभिड अस्पताल नजिक) सम्म, मुख्यमन्त्री निवास उत्तर रोडशेषदेखि दक्षिण सिँचाइ मन्त्रालय जाने बाटोसम्म, जिल्ला प्रशासन कार्यालय उत्तर शनिहाटदेखि दक्षिण टेलिकम मोड, पश्चिम गोल्छा आँखा अस्पतालसम्म, विराटनगर महानगरपालिका पूर्व शनिहाट चोकदेखि उत्तर विराटेश्वर मन्दिर, दक्षिण गोल्छा चोकसम्म, प्रदेश प्रमुख कार्यालय पूर्व नहरदेखि पश्चिम कोशी राजमार्गसम्म, प्रदेश प्रमुख निवास उत्तर मदननगर आवि, दक्षिण मानगढ खानेपानी, पश्चिम नहर आसपासको ३०० मिटर क्षेत्र र इन्टिग्रेटेड चेकपोस्ट वरपर ३०० मिटर क्षेत्र रहेका छन् ।