दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ २४ गते । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्युको समयावधि थप गरेको छ । सोमबार राति ९ बजेदेखि मङ्गलबार बिहान ९ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेशको समय बढाएर मङ्गलबार बिहान ११ देखि बेलुकी ६ बजेसम्म थप गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले एक सूचनामा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक, दक्षिणमा शंकराचार्य गेट चार किल्ला तोकि कर्फ्यु आदेश जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गरिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणले आवतजावत गर्न, कुनैपनि प्रकारको भेला , जुलुस , प्रदर्शन , सभा , बैठक , घेराउ गर्न पूर्णतः निषेध गरिएको छ ।
कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनितिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाइयात्रुहरुको आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जारी सूचनामा जनाइएको छ ।
भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलनको समर्थनमा वीरगञ्जमा पनि मङ्गलबार बिहानदेखि नै प्रदर्शन हुन थालेपछि प्रदर्शनकारीहरूले घण्टाघर चोक, माईस्थानचोक लगायतका क्षेत्रमा नाराबाजी गर्दै प्रहरी उपर ढुङ्गा प्रहार गर्न थालेकाले सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेशको समयावधि थप गरेको हो ।
प्रदर्शन भइरहेको क्षेत्रमा सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको र हालसम्म त्यस्तो कुनै अप्रिय घटना नभएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जानकारी दिनुभयो ।