चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २४ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा यस वर्ष भदौमै हिमपात भएको छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार कञ्चनजङ्घा हिमालको आधार शिविर क्षेत्रमा निकै बाक्लो हिमपात भएको हो ।
मौसममा आएको प्रतिकूलतासँगै कञ्चनजङ्घा क्षेत्रमा हिमपात हुन थालेको पर्यटन व्यवसायी बताउँछन् । कञ्चनजङ्घा आधार शिविर लोनाक क्षेत्रमा होटेल सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाका अनुसार गत सोमबारदेखि हिमपात सुरु भएको हो । समुद्री सतहदेखि चार हजार ७८० मिटर उचाइ रहेको लोनाक क्षेत्रमा निकै बाक्लो हिउँ परेको शेर्पाले बताउनुभयो ।
फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहेका शेर्पाका अनुसार एक सातायता कञ्चनजङ्घा क्षेत्रमा सामान्य हिमपात भइरहेको छ । भदौमै हिमपात हुँदा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई असर पुग्ने शेर्पाले बताउनुभयो । पछिल्लो एक सातायता मौसममा सुधार नआएको उहाँको भनाइ छ ।
सोमबार पनि मौसम बदली नै रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार मौसम धुमिएर सामान्य पानी परिरहेको र घाम नलागेर मौसम पूर्ण रूपमा नखुलेको अवस्था छ । उहाँले सेप्टेम्बरयता कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकको फाट्टफुट्ट आगमन सुरु भएको बताउनुभयो । हाल बदली रहेको मौसममा सुधार नआए पर्यटक प्रभावित हुने उहाँको भनाइ छ ।
कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि भदौ १५ पछि आठ जना विदेशी पर्यटक आइसकेका शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा क्षेत्र अन्तर्गत सात हजार ७१० मिटर उचाइ रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि फ्रान्सबाट दुई जना पर्यटक आएका छन् । यस्तै कञ्चनजङ्घा भ्रमणका लागि फ्रान्सका अन्य दुई जना, अमेरिकाका दुई र इटालीका दुई जना पर्यटक आएका उहाँले बताउनुभयो ।
उहाँका अनुसार स्वदेशी पर्यटक पनि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउन थालेका छन् । कञ्चनजङ्घा क्षेत्र अन्तर्गत नै फक्ताङलुङ दर्शनका लागि बाक्लै सङ्ख्यामा धार्मिक पर्यटक आउन थालेको जानकारी उहाँले दिनुभयो । कञ्चनजङ्घा हिमाल आरोहण तथा यस क्षेत्रको भ्रमण गर्ने मुख्य सिजन (मौसम) असोज र कात्तिक भए पनि भदौदेखि नै विदेशी तथा स्वदेशी पर्यटक आउन थाल्छन् ।