• २४ भदौ २०८२, मङ्गलबार

बेघरबारलाई प्रदेश सरकारले घर बनाइदिने

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बिपी कोइरालाको ११२ औँ जन्मजयन्तीका क्रममा सोमबार भरतपुरमा आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै ।

नारायणगढ समाचारदाता

नारायणगढ, भदौ २४ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक हजार गरिब तथा विपन्न परिवारका लागि घर बनाइदिन गृहकार्य सुरु गरिसकेको बताउनुभएको छ । 

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ११२ औँ जन्मजयन्तीका अवसरमा  सोमबार भरतपुरमा आयोजित सम्मान एवं विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बिपी कोइरालाको प्रमुख उद्देश्य नै गरिब र विपन्नलाई गाँस, बास र कपासको व्यवस्था गर्ने भएकाले आफू अहिले त्यही मार्गमा अघि बढेको स्पष्ट पार्नुभयो ।

“अहिले मेरै व्यक्तिगत खर्चमा केही गरिब परिवारको घर बनाउँदै छु । अब प्रदेश सरकारबाट बजेट विनियोजित गराइसकेको छु । प्रदेशभरमा एक हजार  घर बनाएर सरकारले हस्तान्तरण गर्ने छ,” उहाँले भन्नुभयो, “राजनीतिमा जनतालाई न्याय गर्ने हो तर अहिले जनताले न्याय पाए कि पाएनन् भनेर विश्लेषण गर्नुपर्ने बेला आएको छ,” उहाँले बताउनुभयो । उहाँले प्रजातन्त्रमा नेता बदमास भए नेता परिवर्तन गर्न पाइने तर तानसाही शासनमा त्यो सम्भव नहुने बताउनुभयो । भ्रष्टाचारमुक्त समाज अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले प्रदेश सरकार भ्रष्टाचाररहित प्रदेश बनाउन लागिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल बन्द गराएर सरकारले गल्ती गरेको बताउनुभयो । “नयाँपुस्ता सूचना र प्रविधिमा दक्ष छ । अब त्यही प्रविधि बन्द गरिदिएपछि उनीहरू कसरी मान्दछन्,” उहाँले बताउनुभयो । भण्डारीले पार्टीमा बिपीको नाम लिनेलाई बिपीको चरित्र पूरा गराउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस नेताहरू एनपी साउद,  गोविन्द भट्टराई, राजेश्वर खनाल, जीतनारायण श्रेष्ठ, सूर्यकान्त घिमिरेलगायतले बोल्नुभएको थियो ।

समाचारदाता पराजुली सम्मानित

गोरखापत्रका नारायणगढ समाचारदाता वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँको भर्खरै प्रकाशित प्रजातान्त्रिक आन्दोलनका योद्धा बखानसिंह गुरुङको जीवनीमा आधारित ‘बखान’ उपन्यासका लागि नेपाली कांग्रेस चितवनले सम्मान गरेको हो ।

कार्यक्रममा उपन्यासमार्फत चितवनको इतिहास सार्वजनिक गरेको भन्दै उपन्यासको चर्चा गरिएको थियो । उक्त कार्यक्रममा बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङलगायत चितवनका प्रजातान्त्रिक योद्धालाई पनि सम्मान गरिएको थियो ।