• २२ भदौ २०८२, आइतबार

‘बाँकेका नारी स्रष्टा र सिर्जना’ कृतिको विमोचन

blog

वरिष्ठ साहित्यकार डा. तिमिल्सिनालाई पुरस्कृत एवं सम्मानित गरिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २२ गते । बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारीस्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको ‘बाँकेका नारी स्रष्टा र  सिर्जना’ कृतिको नेपालगन्जमा  विमोचन गरिएको छ । 

कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले समालोचक लेकप्रसाद प्याकुरेलको उक्त कृतिको विमोचन गर्नुभयो। 

सो अवसरमा कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई प्रमुख अतिथि रेग्मी र विशिष्ट अतिथि प्राडा.कृष्ण घिमिरेले नारी रत्न सम्मान प्रदान गर्नुभएको थियो । उक्त कृतिको समीक्षा समालोचक डा.पुष्कर रिजालले गर्नुभयो ।  

सोही कार्यक्रममा साहित्यकार समालोचक डा.हरिप्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्ण टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थापित देउकला टीकानिधि स्मृति पुरस्कार प्रदान गरियो । 

कार्यक्रममा कृतिकार लेकप्रसाद प्याकुरेल, प्राज्ञ महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ साहित्यकार डा.हरि तिमिल्सिना तथा किरण आचार्यले कृतिको ऐतिहासिक र गुणात्मक महत्त्वका बारेमा चर्चा गर्नुभएको थियो ।

सोही कार्यक्रममा साहित्यकारहरू ईश्वरी रिजाल, चन्द्रावती अधिकारी, चरित्रा शाह, नमिता बराल, नन्दा घिमिरे इन्दिरा गौतमलगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा बाँके, बर्दिया कैलाली र सुर्खेतसम्मका १०० भन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कल्पना फाउन्डेसनका अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम बोधराज प्याकुरेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।