• २२ भदौ २०८२, आइतबार

नारायणगढ–बुटवल सडकको काममा लापरवाही भएको गुनासो

blog

कालोपत्रे गरिएको सडक ।

ज्ञानु पंगेनी

मध्यविन्दु, भदौ २२ गते । निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डको नयाँ कालोपत्रे सडक दबिएर उबड–खाबड बनेको छ । कालोपत्रे सम्पन्न भएको उकालो स्थानमा सडक बढी दबिएको छ । नवलपुर खण्डको गैँडाकोटदेखि दुम्किवाससम्म पर्ने अधिकांश उकालो क्षेत्रमा सडक बिग्रिएको छ ।

यस सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदैगर्दा अरुण खोला बजार सकिनेबित्तिकै पर्ने उकालो र चोरमाराको चौरङ्गी आइपुग्दा  उकालो क्षेत्रमा सडक बढी दबिएर निकै बिग्रिसकेको छ । चोरमारादेखि गैँडाकोटसम्म पर्ने करिब सात–आठ वटा उकालो क्षेत्रमा सडक दबिएर बिग्रिएको छ । 

उकालो मात्र होइन, भर्खर–भर्खर सम्पन्न कालोपत्रे सडकमा प्वाल  परेको छ । कतै धसिएको छ त कतै सडकभन्दा माथि उठेको छ । जसका कारण यात्रामा समस्या भएको छ । दुर्घटनाको जोखिम पनि बढेको छ । 

त्यति मात्र होइन, निर्माण सम्पन्न भएका कल्भर्ट र ठुला पुलहरूमा समेत समस्या देखिएको छ । हालै सम्पन्न भएको दुम्किवासको पुलको बिच भागमै प्वाल परेको छ । केही समयअघि सम्पन्न भएका झाराही खोला, बौलाहा खोला, लोकाहा खोला लगायतका ठुला पुल र ठाउँ –ठाउँमा निर्माण भएका कल्बर्टहरुमा ठाउँमा प्वाल परेका छन् । पुलको जडान भएको ठाउँको लेबल नमिल्दा मोटरसाइकल स्कुटरलाई धरापजस्तै भएको छ । स्पिडमा गुडेका सवारीले नदेखेमा सवारी नै ठक्कर खाएर पल्टिने जोखिम छ । 

नयाँ बनेको कालोपत्रे सम्पन्न भएको केही दिनमै  बिग्रिँदा गुणस्तरीय काम नभएकाले सडक बिग्रिएको स्थानीयको गुनासो छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले यस बारेमा आयोजना र सडक डिभिजनलाई औपचारिक रूपमा पत्र लेखेरै सडक निर्माणमा भएको लापरवाही बारेमा जानकारी गराएको बताउनुभयो । 

सडकको जुनखालको डिपिआर हो त्यसअनुसार कामै नभएको अधिकारीको भनाइ छ । यस बारेमा प्रस्ट रूपमा पत्रमार्फत सम्बन्धित निकायसँग कुरा राखेको उहाँले बताउनुभयो । ‘नरायणगढ–बुटवल सडक खण्डमा धेरै फल्ट छ, यहाँ निर्माण भएका पुल र कल्बर्टमा पनि फल्ट छ भनेर आयोजनालाई नगरपालिकाको तर्फबाट चिठी नै लेखेर पठाएको छु’ नगर प्रमुख अधिकारीले भन्नुभयो । 

आयोजनाको ठेकेदार पक्षका इन्जिनियर राकेश झाले सडक बारेमा गुनासोहरू आएको तर के कारणले त्यस्तो भयो भन्ने बारेमा प्राविधिकले जाँच गर्ने र त्यसको रिपोर्ट आएपछि मात्र थाहा हुने बताउनुभयो । 

एकतर्फी कालोपत्रे भएको स्थानमा बढी समस्या देखिएको  बताउँदै उहाँले अर्कोतर्फ कालोपत्रे सम्पन्न भएपछि मात्र बिग्रिएको स्थानमा मर्मतको काम गर्ने बताउनुभयो । पुलहरूमा देखिएको समस्याबारेमा उहाँले जोइन्ट भएका स्थानमा काम गर्ने बाँकी रहेको बताउँदै (स्टिलको जोइन्ट) राख्न बाँकी रहेको र राखेर पिच गरिने जानकारी दिनुभयो ।