• २२ भदौ २०८२, आइतबार

सप्तरीमा एक पुजारीको शङ्कास्पद मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा एक वृद्ध पुजारीको शङ्कास्पद मृत्यु भएको छ ।नगरपालिका– ८ सुन्दरी पुल नजिकैको काली मन्दिरमा विगत ६/७ वर्षदेखि पुजारीको रुपमा बस्दै आएका उहाँको शङ्कास्पद मृत्यु भएको हो । अहिलेसम्म पुजारीको नामसमेत खुल्न सकेको छैन ।

शनिबार साँझ ७५ वर्षीय पुजारी मन्दिर परिसरमै टाउकोमा चोट लागी घाइते अवस्थामा भेटिनुभएको थियो ।

स्थानीयवासीहरूले उहाँलाई  नगर अस्पताल कञ्चनपुर पुर्‍याए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँले मृतकको टाउकोमा चोट देखिएकाले आफैँ लडेको वा कसैले धक्का दिएर लडाएको बारे अनुसन्धान थालिएको बताउनुभयो ।

“मृत्यु शङ्कास्पद देखिएको छ, प्रहरीले अनुसन्धान थालेको छ’’ बस्नेतले भन्नुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।