नेपालमा मात्र नभई विश्वभर नै सामाजिक सञ्जालको क्रेज बढ्दो छ । कुनै समयमा एकाबिहानै पत्रपत्रिका पढेपछि र टेलिभिजन वा रेडियोमा समाचार सुनेपछि मात्र देश विदेशका खबरको बारेमा जानकारी पाइन्थ्यो तर अहिले समय बदलिएको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इनस्टाग्राम, युट्युब, टिकटक, पोडकास्टलगायतका प्लेटफर्ममा छिनभरमै देश, विदेशका खबर हेर्न, सुन्न र पढ्न पाइन्छ । आजको विज्ञान र प्रविधिको युगमा तत्कालै देश, विदेशका सूचना प्राप्त गर्नुलाई सकारात्मक रूपमा हेर्न सकिन्छ । चर्चित सर्च इन्जिन गुगलको सहउत्पादकका रूपमा दरिएको युट्युब आर्थिक कारोबार, कमाइ वा रोजगारीका दृष्टिकोणले बलियो मानिन्छ । नेपालमा पनि दिनप्रतिदिन युट्युब च्यानल खोल्ने र ‘कन्टेन पोस्ट’ गर्ने जमात बढ्दो छ । युट्युब मात्र नभई समग्र सामाजिक सञ्जाल नै संसारको अगुवा प्लेटफर्म हो, जसको माध्यमबाट विभिन्न सूचनामूलक कन्टेन, भिडियो सेयर गर्न वा विमर्शका लागि अरूलाई उत्प्रेरित गरिरहेको छ । ग्लोबल भिलेजको रूपमा खुम्चिएको संसारका मानिसलाई ज्ञानसँग साक्षात्कार गर्ने वा सूचना आदानप्रदान गर्ने माध्यम पनि सामाजिक सञ्जाल बनिरहेको छ ।
युट्युबसहितका सामाजिक सञ्जालले नेपालमा जति आलोचना खेपिरहेको छ, उत्ति नै प्रशंसा पनि बटुलिरहेको छ । जसले लामो समयदेखि पत्रकारितामा जमेका लोकप्रिय पत्रकारसमेत सामाजिक सञ्जालको छायामा पर्ने गरेका छन् । विश्वभर प्रभाव पार्ने सक्ने बिबिसी, सिएनएन जस्ता ठुला मिडियाले उत्पादन गरेका सामग्री जनतामाझ पु¥याउनका लागि सामाजिक सञ्जाल युट्युबको माध्यम रोज्ने गरेका छन् । सामाजिक सञ्जालका रूपमा व्यक्ति व्यक्तिले मात्र युट्युबको प्रयोग गरिरहेका छैनन् । पत्रकारिताको माध्यमका रूपमा अनुभवी वा प्रशिक्षित पत्रकारले पनि यसको प्रयोग गरिरहेका छन् । चर्चा कमाइने र आर्थिक आम्दानी हुने भएकाले यतातर्फ क्रेज दिनहुँ बढ्नु स्वाभाविक नै हो । जे भए पनि सामाजिक सञ्जाल समाजको आवश्यकता वा टाढा–टाढाका मानिसलाई जोड्ने माध्यम भने बनेको छ, जहाँ प्रयोगकर्ताले स्वतन्त्रतापूर्वक भिडियो अपलोड गरिरहेका छन् ।
आजको २१ औँ शताब्दी आफैँमा स्मार्ट छ । हामी सबैको हातमा सहजै उपलब्ध भएका स्मार्ट फोनकै कारण पनि सामान्य भिडियो खिचेर युट्युबलगायतका सामाजिक सञ्जालमा अपलोड गर्नेको सङ्ख्या बढ्दो छ । व्यावसायिक रूपमै सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने व्यवसाय कसैले गरिरहेको छ भने उसले आफ्नो जीवन धानिरहेको छ । त्यसैले पछिल्लो समय यो माध्यम रोजगारीको समेत राम्रो प्लेटफर्म बनिरहेको छ ।
सन्देश प्रवाहको सहज माध्यम
सामाजिक सञ्जालको बलियो माध्यम मानिएको युट्युब सञ्चालन गर्ने केही युट्युबरले नेपाली समाजमा सकारात्मक सन्देशको प्रवाहमा समेत सहयोग पु¥याएका छन् । नेपालको दुर्गममा भएका समस्यालाई जनतासामु पस्कने, समाजमा व्याप्त रहेका कुरीतिहरूका विषयमा, जनताका प्रत्यक्ष सरोकार जोडिएका विषयमा कन्टेन बनाउने युट्युब पनि नभएका होइनन् तर केही युट्युबरले बनाउने कन्टेनका कारण समग्र युट्युबरलाई नकारात्मक हिसाबले हेरिने गरिएको भने यथार्थ हो । केही नराम्रा र अतिरञ्जित फैलाउने
युट्युबरका कारण समाचारमा सकारात्मक सन्देश प्रवाह गरिरहेका चर्चित पत्रकार र पत्रकारितामा भविष्य खोजिरहेकालाई समाजले पत्रकार भन्ने बित्तिकै गलत नजरले हेर्ने प्रवृत्तिसमेत बढ्न थालेको छ तर नेपालमा सकारात्मक सन्देश प्रवाह गर्ने युट्युब च्यानल नभएका भने होइनन् । उदाहरणका लागि पत्रकार विद्या चापागाईंले हेर्ने कथामार्फत समाजमा सकारात्मक सन्देश दिने कन्टेनलाई बढवा दिएर भिडियो बनाउने गर्नुभएको छ । उहाँले भिडियोमार्फत पस्कने कतिपय भिडियोले नेपाली समाजमा उत्प्रेरणाका साथै सकारात्मक सन्देश प्रवाहमा महìवपूर्ण भूमिका खेलेको पाइन्छ । चापागाईं जस्तै अन्य मूलधारका पत्रकारले सञ्चालन गर्ने पोडकास्ट र विभिन्न कार्यक्रमले भने समाजलाई सकारात्मक दिशामा अगाडि बढ्न सघाउ पु¥याएका छन् ।
विश्वसनीयताको चुनौती
विश्वका विकसित मुलुकमा सामाजिक सञ्जालमा राख्ने कन्टेनले समाजमा धेरै हदसम्म सकारात्मक र समाजलाई उत्प्रेरित बनाउने खालका हुने गरेको पाइन्छ तर नेपालमा भने सकारात्मक भन्दा नकारात्मक कन्टेनमै सामाजिक सञ्जाल प्रयोगकर्ता र युट्युबर रमाउने गरेको यथार्थ हो । यसो भन्दै गर्दा नेपालका युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले समाजमा नकारात्मक प्रभावमा भूमिका खेले भनेर लाञ्छना लगाउन खोजेको होइन ।
नेपालमा लोकप्रिय मानिएका कतिपय युट्युब च्यानल र सामाजिक सञ्जालहरूले खाली व्यक्तिका निजी कुरा, श्रीमान्श्रीमतीको निजी झगडा, अश्लीलता, परिवारमा फोटो ल्याउने, समाज भड्काउने, गोपनीयता नै भङ्ग गर्ने, समाजमा अपाच्य खालका कन्टेन निर्माण गर्ने, सामान्य कुरालाई अतिरञ्जित गरेर पस्कने, मानवीय संवेदनशीलतालाई ख्याल नगर्ने, कमाउ धन्दामा लाग्ने, कर्मचारी र प्रशासनलाई अनाश्यक दुःख दिने, सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा बेवास्ता गर्नेलगायतका कन्टेनमा बढी चासो राख्ने गरेका छन् । युट्युबका कतिपय विषयवस्तुले समाजमा नकारात्मक असर मात्र पारेको छैन, कतिपयलाई मानसिक तनावदेखि डिप्रेसनको सिकारसमेत भएका छन्, जसले आगामी दिनमा आत्महत्याको बाटोसमेत नरोज्लान भन्न सकिन्न । यी विभिन्न विषयवस्तुले युट्युबरले नेपाली समाजमा सकारात्मकभन्दा नकारात्मक प्रभाव नै बढी पारेको भन्दा अनुपयुक्त नहोला ।
कानुनी व्यवस्था
युट्युबर र सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्नेलाई पत्रकार मान्ने हो भने कतिपयले पत्रकारिताको आधारभूत सिद्धान्त र दायित्वलाई समेत ख्याल गरेको पाइँदैन । सूचना सम्प्रेषणका माध्यम बनिरहेका सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नु जरुरी देखिन्छ । संसद्मा छलफलको क्रममा रहेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक’ मा सामाजिक सञ्जालसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । विधेयकको परिच्छेद–२ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सोही परिच्छेदको दफा ६ मा अनुमति प्रदान गर्ने र दफा ७ मा नवीकरणसम्बन्धी व्यवस्था गरिएको छ । दफा ८ मा सामाजिक सञ्जाल प्लेटफर्म खारेजीका बारेमा दफा ८ बमोजिमको नियम पालना नगरेमा प्लेटफर्म सञ्चालनमा रोक लगाउनेसमेत व्यवस्था गरिएको छ । यसरी नेपालमा दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जाललाई नेपाल सरकारले रोक लगाउन सक्ने र सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने विषयका बारेमा समेत प्रस्टाउँदै त्यस्ता विषय सम्प्रेषण र प्रसारण गरेका खण्डमा कानुनबमोजिम कसुरको मात्रा हेरी सजायको समेत व्यवस्था गरिने उल्लेख छ ।
सर्वोच्च अदालतले अबदेखि स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनपूर्व अनिवार्य रूपमा आधिकार निकायमा दर्ता गर्नुपर्ने आदेशसमेत सुनाएको छ । यसले नेपाली मिडियालाई नियन्त्रण गर्न खोजेको आवाज एकातिर उठिरहेको छ भने अर्कोतिर अदालतको निर्णयलाई राम्रो भन्नेको जमात पनि रहेको छ ।
ओझेलमा पत्रकार
सामाजिक सञ्जालबाट सूचना प्रवाह गर्ने युट्युबर पत्रकार हुन् वा होइनन् ? भन्ने विषय नेपालमा अहिले व्यापक बहसको विषय बनेको छ । यस्ता प्रकारका धेरै युट्युबरले आफूलाई पत्रकार भनेर परिभाषित गर्ने गरेका छन् । कतिपयले क्यामरा र बुम तेर्साएको भरमा युट्युबरलाई पत्रकार मान्न नसकिने टिप्पणी गर्छन् भने अर्कोतर्फ जनतालाई मनोरञ्जन र सूचना दिएकै छन् युट्युबर पनि पत्रकार हुन् भन्ने जमातको पनि कमी छैन ।
राज्यको चौथो अङ्ग भनेर व्याख्या गरिएका वास्तविक पत्रकारलाई बेवास्ता गरिनु र क्यामरा, बुम बोकेर स्मार्ट भएका युट्युबरलाई प्राथमिकतामा राखिनुलाई वास्तविक पत्रकारप्रतिको अवहेलना हो । नेपाली युट्युबरले गरिरहने गल्ती भनेको पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन नै हो । त्यसैले युट्युबरलाई पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन गराउने र नियमन गर्नुपर्ने अपरिहार्य छ । प्रविधिको विकाससँगै अगाडि आएको डिजिटल दुनियाँलाई नियन्त्रण वा निस्तेज गर्ने भन्दा व्यवस्थापन नै उत्तम विकल्प हो ।
अहिले सामाजिक सञ्जालमा ‘भ्युज’ र ‘भाइरल’ को मोह छ । ‘भ्युज’ को मोहभन्दा बहुसङ्ख्यकको विषय र सवालको उठान गर्नुपर्ने अत्यावश्यक छ । बहुसङ्ख्यकले हेरे भनेर मात्र आफूलाई सर्वश्रेष्ठ भन्नुभन्दा बहुसङ्ख्यक व्यक्तिको विषयलाई विषयवस्तुको मूल विषय बनाउनु आजको आवश्यकता हो । पछिल्लो समय जो वास्तविक पत्रकारिता गर्छन् । उनीहरूलाई समेत युट्युबरको रूपमा हेर्ने गरिएको छ । यदि मात्र होइन, राज्यकै सुरक्षा निकाय र राज्यकै सूचना दिने कतिपय निकायले पनि आमपत्रकारभन्दा सामाजिक सञ्जालबाट सूचना सम्प्रेषण गर्ने र युट्युबरलाई बढी प्राथमिकतामा राख्ने गरेको अनुभूति हुने गर्छ ।
सुझाव
अहिलेको सामाजिक सञ्जालको प्रतिस्पर्धात्मक युगमा राज्यले मात्र अङ्कुश लगाउने भन्नेमा त्यति व्यावहारिकता देखिन्न । यसका लागि राज्यले मात्र केही गरेन भनेर भनिरहनेभन्दा पनि हामी सामाजिक सञ्जाल प्रयोगकर्ता नै यसतर्फ सचेत बनेर कस्ता विषयवस्तु बनाउने, कस्ता विषयवस्तुलाई उठान गर्ने र समाजमा कस्तो सन्देश प्रवाह गर्ने भन्नेमा बढी जोड दिनुपर्ने देखिएको छ । सामाजिक सञ्जाललाई चाहेर पनि नेपालले आफ्नो नियन्त्रणमा राख्न सक्दैन । विश्वका केही मुलुकले युट्युबलगायतका सामाजिक सञ्जाललाई औपचारिक प्रतिबन्ध र निश्चित समयका लागि प्रतिबन्ध गरेका उदाहरण पनि छन् तर नेपालले यस्ता सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको छैन ।
सामाजिक सञ्जालमा आउने सबै विषयवस्तु सत्य नहुन पनि सक्छन् । खाली आर्थिक प्रलोभन र भ्युजकै लागि पनि धेरै प्रकारका विषयवस्तुको सिर्जना गरिएको हुन सक्छ । सामाजिक सञ्जाललाई पूर्ण नियन्त्रण र निरुत्साहित नै गर्नुभन्दा पनि यसतर्फ नेपाली समाजलाई सचेत बनाउनु महत्वपूर्ण छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले कुन भ्रामक र अतिरञ्जितपूर्ण सूचना हो भनेर छुट्याउन सक्नु पर्छ । सामाजिक सञ्जालमा आउने सबै कुरालाई विश्वास गर्ने गरेको देखिएको पाइन्छ । समाजलाई सचेत बनाउनका लागि विद्यालय शिक्षादेखि नै सामाजिक सञ्जालको विषयमा अध्ययन गराउने, घरपरिवारका यसका विषयमा आफ्ना छोराछोरीलाई यसको प्रयोग र सञ्चालनसम्बन्धी जानकारी दिने, विशेष गरी युट्युबरलाई सचेतनामूलक तालिमको व्यवस्था गर्ने, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कस्ता विषयवस्तुलाई प्राथमिकतामा राखेर हेर्ने भन्ने विषयमा जानकारी गराउने र मूलतः युट्युबरले आफूले बनाउने विषयवस्तुले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा चनाखो हुनुपर्ने देखिन्छ ।