• २० भदौ २०८२, शुक्रबार

मुग्लिन–पोखरा सडक विस्तारः पश्चिम खण्डमा ५७ प्रतिशत भौतिक प्रगति

blog

कालोपत्र हुँदै गरेको सडक । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २१ गते । मुग्लिनपोखरा सडक विस्तारको पश्चिम खण्ड (जामुनेपोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ५७.२३ प्रतिशत र वित्तीय प्रगति ४३.६३ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

कुल ३८.८८ किलोमिटर दूरीको यस खण्डमा ३६.८ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार, २६.३८ किलोमिटरमा दुईतर्फी (चार लेन) कालोपत्र गरिएको छ भने १०.४२ किलोमिटरमा एकतर्फी (दुई लेन) कालोपत्र सकिएको छ।

यो परियोजना वि.सं २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताउनुभयो । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिनुभयो । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला१, फेदीखोला२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ। तर, कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ४७।५२ प्रतिशत र वित्तीय प्रगति ४७।९ प्रतिशत पुगेको छ ।

यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँ रहेको छ। मुग्लिनपोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य छ । तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ-पूर्वी खण्ड (आँबुखैरेनीजामुने) र पश्चिम खण्ड (जामुनेपोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ, जसले भावी दिनमा यात्रु र सवारी साधनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।


यद्यपि, काम समयमै पूरा नभएको, पटकपटक म्याद थपिएको र यातायात अवरुद्ध हुँदा स्थानीयले भोग्नुपरेको कठिनाइबारे पनि जनस्तरमा असन्तोष छ । तर, सडक विस्तार र पुल निर्माण कार्यले पूर्णता पाएपछि यो सडकले मात्र पोखराकाठमाडौं यात्रा सहज बनाउने छैन, गण्डकी प्रदेशको आर्थिकसामाजिक विकासलाई पनि नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।