• २० भदौ २०८२, शुक्रबार

आगलागी हुँदा दुई करोड रूपियाँ बराबरको क्षति

blog

आगलागी भएर क्षति भएको घर । तस्बिरः अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, भदौ २० गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ गरगरेमा शुक्रबार बिहान आगलागी हुँदा दुई करोड रूपियाँ बराबरको क्षति भएको छ ।

अस्थायी प्रहरी पोष्ट गरगरे मकवानपुरका अनुसार बिहान ७ बजेर ४५ मिनेटको समयमा स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी हुँदा सो क्षति भएको हो । 

आगो निभाउने क्रममा पसल सञ्चालक ४५ वर्षीय लीलाराम जिम्बाको दुबै हात र खुट्टामा पोलेर घाइते भई उपचारका लागि हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घाइतै जिम्बाका आफन्तले चुरेहिल अस्पताल मकवानपुरमा ल्याई उपचार भइरहेको छ । 

घाइतेको शरीरको अगाडिको भाग ४० प्रतिशत जलेको छ । थप उपचारका लागि वर्न अस्पताल कीर्तिपुर काठमाडौं रिफर भएको प्रहरीले जनाएको छ । घर अगाडि बालेको दियोमा पसल सञ्चालकले पेट्रोलको ड्रमबाट पेट्रोल भर्नेक्रममा ड्रम पल्टन गई आगो सल्की आगलागी भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट दुईतले पक्की घर पूर्णरुपमा जल्दा नगद १५ लाख, ग्यास सिलिन्डर ३० थान जलेको, पेट्रोल, डिजेल, खाद्यान्न, अन्नपात, लत्ताकपडा, फर्निचरको सामानलगायत अन्य सामानहरु जली नष्ट भएको छ । घरधनीको घरभित्र रहेको एनएस २०० बाप्र०३–००६ प १८९७ पल्सर मोटरसाइकल र सामान किनमेल गर्न आएको  स्थानीय  नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नं को २२० पल्सर मोटरसाइकल जलेर नष्ट भएको छ ।

आगलागी स्थानीय, प्रहरी र बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रको सहयोगमा ९ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिइरहेको थियो ।