• २० भदौ २०८२, शुक्रबार

नेपाल रेडक्रसको स्थापना दिवस : खोटाङमा ८० जनाले गरे रक्तदान

blog

नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसका अवसरमा खोटाङमा आयोजित रक्तदान कार्यक्रमका सहभागी । तस्बिर : रासस

खोटाङ,भदौ  १९ गते । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसका अवसरमा खोटाङमा आज आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । 

युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल र जुनियर रेडक्रम सर्कल (जुरेस) सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङको संयुक्त आयोजनामा दिक्तेलबजारस्थित रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा ८० जनाले रगत दान गरेका हुन् । 

कार्यक्रममा रक्तदाताले दान गरेका रगतमध्ये पाँच पिन्ट दिक्तेलस्थित रक्त सञ्चार केन्द्रमा राखिएको र बाँकी ७५ पिन्ट भक्तपुर ब्लड बैंक पठाइएको युरेस दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुष राईले जानकारी दिनुभयो । रत्नपार्कमा बिहान ८ः०० बजेदेखि सुरु गरिएको कार्यक्रममा १४ जना महिला र ६६ जना पुरुषले रक्तदान गरेका छन् । 

रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा भक्तपुर ब्लड बैंकका चार, दिक्तेल रक्त सञ्चार केन्द्रका तीन र फेमेली केयर अस्पतालका एक जना स्वास्थ्यकर्मी खटिनुभएको सुर्केडाँडा आधारभूत विद्यालयका शिक्षक नायक भूपाल राईले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ युरेस र जुरेसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सङ्कलन भएको रगत जिल्लामा हालसम्मकै बढी भएको दाबी गरिएको छ । 

जुरेस सुर्केडाँडा आधारभूत विद्यालयका अध्यक्ष नवीन दाहालको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशी, जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाकोकी, शैक्षिक अभियन्ता सूर्य राई, नेपाली कांग्रेसकी नेतृ डिल्लीकुमार आचार्य, युवानेता सञ्जयकुमार राई, फेमेली केयर हस्पतालका अध्यक्ष जयप्रसाद राई ‘जेपी’लगायतको उपस्थिति थियो । रासस