बर्दीबास समाचारदाता
बर्दीबास, भदौ २० गते । बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक वसन्तप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षक यादवमाथि शिक्षालयका चार जना छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।
घटनाबारे अभिभावकसाथ आएका छात्राले दिएको जाहेरीको आधारमा शिक्षक यादवलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको इलाका प्रहरी बर्दीबासले जनाएको छ । शिक्षक यादवले रातको समयमा फोन गरी कहिले परीक्षामा पास गराइदिने प्रलोभन र कहिले अभद्र धाकधम्की दिएर छात्रालाई मानसिक यातना दिएको आरोप छ । यससम्बन्धी अडियो रेकर्ड फेला परेपछि शिक्षालयको सहयोगमा बर्दीबास प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहताले अभिभावकसाथ आएका चार जना छात्राले शिक्षक यादवविरुद्ध उजुरी दिन आएपछि घटनाबारे जानकारी पाएको बताउनुभयो । जानकारीलगत्तै शिक्षालय प्रशासनले सिटिइभिटीका मधेश प्रदेश निर्देशक अच्युतराज दहाललाई जानकारी गराउनुका साथै प्रमुख जिल्ला अधिकारीसँग परामर्शपछि पीडित छात्रालाई अभिभावकसाथ बर्दीबास प्रहरीमा पठाएको थियो ।
मेहताले भन्नुभयो, “घटनाबाट हामी स्तब्ध छौँ । शिक्षालयको मर्यादा कायम राख्न र घटना दोहरिन नदिन हामी सजग छौँ ।” २०७७ सालदेखि करारमा कार्यरत महोत्तरीको सोनमा गाउँपालिका स्थायी ठेगाना भएका शिक्षक यादवमाथि यसअघि सोही शिक्षालयका तीन छात्राले एकसाथ विष सेवन गरेको घटनालाई पनि जोडेर हेर्न थालिएको छ । २०८१ पुस १५ गते सामूहिक विष सेवन गरेकामध्ये एक छात्रालाई माईस्थानको जङ्गलबाट मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । पक्राउ परेका शिक्षक यादवलाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न बिहीबार महोत्तरी जिल्ला अदालतले सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टले जनाउनुभयो ।