• २० भदौ २०८२, शुक्रबार

नाबालिग छोरीद्वारा आमाबुवाको काजकिरिया

blog

बाह्र दिनमा दुवैलाई दागबत्ती 

कविराज घिमिरे 

हिले (धनकुटा), भदौ २० गते । गत भदौ ४ गते कुवेतमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको बिहीबार अन्त्येष्टि गरिएको छ । धनकुटाका महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । मगरको शवलाई उहाँका दुई छोरीले दागबत्ती दिनुभयो । गत १३ गते महालक्ष्मी नगरपालिकाले मगरको शव नेपाल झिकाउन कागजात पठाएको थियो । 

श्रीमान्को मृत्युको खबर सुनेर विद्या मगरको भदौ ७ गते मृत्यु भयो । पारिवारिक स्रोतका अनुसार कुवेतमा भएको विषाक्त मदिरा सेवनको घटनामा पर्नु भएको थियो । विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी पर्नु भएका मगरको उपचारको क्रममा भदौ ४ गते मृत्यु भएको खबर आएको स्थानीयको भनाइ छ । श्रीमान्को मृत्युले विक्षिप्त बन्नुभएकी विद्या भदौ ७ गते एकाएक बेहोस हुनुभयो । उपचारका लागि जितपुर नगर अस्पताल पु¥याउनसाथ अस्पतालले विद्यालाई मृत घोषित गरिदिएको विद्याका दाजु गणेश मगरले जानकारी दिनुभयो । 

छोरीहरूले सोही दिन दमारस्थित अरुण नदी किनारमा आमाको शवको अन्त्येष्टि गरेका थिए । मगर जातिको संस्कृति अनुसार उहाँ छोरीहरूले सात दिन काममा बसेर १३ गते आमाको काम सकी बुवाको शव पर्खिएर बसेको स्थानीय पदम रखालले जानकारी दिनुभयो । उहाँहरूले १२ दिनको अन्तरालमा आमा र बुवाको शवलाई दागबत्ती दिनु परेको छ । कुवेतबाट बुधबार मगरको शव काठमाडौँ आइपुगेको र काठमाडौँबाट बिहीबार नै शव धनकुटा आइपुगेको महालक्ष्मी नगरपालिकाका रोजगार शाखा प्रमुख गौरव कार्कीले जानकारी दिनुभयो ।   

डम्बर दुई वर्षअघि २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएको थियो । श्रीमती विद्या भने धनकुटामै छोरीसँगै बस्दै आउनुभएको थियो । मगर दम्पतीका तीन छोरी छन् । उनीहरू एक्कासि बाबुआमाविहीन बन्न पुगेका छन् । १६ वर्षीय जेठी छोरी विपना मगर धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिरमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । माहिली छोरी १५ वर्षीय मञ्जु मगर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । कान्छी छोरी समिता मगर दुई वर्षको हुनुहुन्छ । 

श्रीमान्/श्रीमतीको तीन दिनको अन्तरालमा भएको मृत्युले परिवार आफन्त मात्र नभई  गाउँ नै शोकाकुल भएको छ । सामान्य आर्थिक अवस्था रहेको मगर दम्पतीको मृत्युपछि छोराछोरीको लालनपालन र हेरचाहका लागि अहिले सहयोग सङ्कलन गर्ने काम भइरहेको स्थानीय विमला थापाले जानकारी दिनुभयो । माहिली छोरी १५ वर्षीय मञ्जु मगरको नाममा बैङ्कमा खाता खोलेर सहयोग सङ्कलन सुरु गरिएको हो । महालक्ष्मी नगरपालिकाले बालबालिकाको शिक्षामा लाग्ने खर्च सबै पालिकाले बेहोर्ने जनाएको छ । मेयर ध्रुवराज रायका अनुसार पढाइ खर्चबाहेक अन्य सहयोग गर्न पालिका तत्पर रहेको छ ।