• २० भदौ २०८२, शुक्रबार

कार्यविधि नआउँदा योजना कार्यान्वयनमा ढिलाइ

blog

 बनेपा समाचारदाता 

बनेपा, भदौ २० गते । आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि बागमती प्रदेश सरकार अन्तर्गत जिल्लामा रहेका सरकारी कार्यालयले विनियोजन भएको योजनाको काम सुरु गर्न सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका कार्यालयले सरकारबाट कार्यविधि नआएका कारण चालु आवमा सञ्चालन हुने कार्यक्रम तथा योजनाको काम सुरु गर्न नसकिएको जनाएका हुन् । प्रदेश सरकारबाट डेढ महिनासम्म कार्यविधि नआउँदा कार्यालयलाई कुन आधारमा कसरी काम गर्ने भन्ने विषयमा अन्योल देखिएको छ । 

सरकारले समयमा नै काम सम्पन्न गर्ने रणनीति अघि सार्दै आए पनि प्रदेश सरकार परिवर्तनलगायतका कारण कार्यविधि निर्माणमा ढिलाइ भएसँगै योजना कार्यान्वयनमा समेत ढिलाइ हुँदै आएको छ । सरकारको कारण कार्यविधि आउन ढिलाइ भएसँगै चालु आवको पहिलो तीन महिना कुनै काम नहुने अवस्था देखिएको छ । 

योजना कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता तथा निर्माण व्यवसायीलाई समयमा नै काम गर्न चुनौती थपिएको छ भने आवको अन्त्यमा भुक्तानीलगायतमा समस्या देखिँदै आएको छ । आव सुरु भएको डेढ महिनाको अवधिमा साउन महिनामा सरकार परिवर्तनसँगै मन्त्रीहरूको समेत परिवर्तन भएका कारण मन्त्री, सांसद सरकार बनाउने र शुभकामना थाप्दै हिँड्न व्यस्त छन् । 

प्रदेश सरकारले कार्यविधि नल्याउँदा जिल्लामा रहेका पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन, सामाजिक विकासलगायतका कार्यालयले चालु आवको कुनै पनि योजनाका काम सुरु गर्न सकेका छैनन् । 

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले प्रदेश सरकारबाट कार्यविधि प्राप्त नभएका कारण कार्यालयमार्फत चालु आवमा सञ्चालन गरिने कुनै पनि योजनाको काम सुरु गर्न नसकिएको बताउनुभयो । “कार्यविधि नआएका कारण चालु आवमा सञ्चालन गरिने योजनाको विषयमा सूचना प्रकाशन गर्न सकिएको छैन,” प्रमुख दवाडीले भन्नुभयो । उहाँले कार्यविधि नभएका कारण नयाँ योजनाको काम सुरु गर्न नसकी पनि गत आवमा सञ्चालन गरिएको योजनाको अनुगमन गर्ने, गत आवका लाभग्राहीको तथ्याङ्क सङ्कलन साथै कार्यालयको अफिसियल वेबसाइटमा अपलोड गर्ने र कार्यालयका गतिविधिको पुस्तक प्रकाशनको तयारी भइरहेको बताउनुभयो । 

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख ई. विनय पौडेलले प्रदेश सरकारले चालु आवको योजना कार्यान्वयनका लागि हालसम्म कार्यविधि नपठाएको बताउनुभयो । उहाँले चालु आवका लागि नयाँ कार्यविधि ल्याउने जानकारी पाएका कारण पुरानो कार्यविधि अनुसार काम अघि नबढाइएको बताउनुभयो ।