प्रेमराज सिंखडा
कालीकोट, भदौ १९ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनिराज वराल (स्टार) बुधबार बिहानदेखि सम्पर्क विहीन हुनुभएको छ। घरबाट ससुराली जानु हुने बताएर निस्किएका वडा अध्यक्ष वरालसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन।
नगरपालिका प्रमुख धर्मराज शाहीको सचिवालयले वडा अध्यक्ष वरालको खोजीमा सहयोग गर्न सबै सरोकारवालालाई अनुरोध गर्नुभएको छ। सचिवालयका सदस्य टिकाराज उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भन्नु भएको छ, “वडा अध्यक्ष वराल बुधबार बिहानदेखि सम्पर्कमा हुनु भएको छैन। उहाँको खोजीमा सहयोग पुर्याउन सबैसँग अपिल गर्दछौँ।”
सचिवालयले वडा अध्यक्ष वरालको फोटो पनि सामाजिक सञ्जालमा प्रकाशन गरी खोजीमा सहयोगको अपिल गर्नुभएको छ।
नगरपालिका उपप्रमुख मनिराज वरालले पनि अध्यक्ष वरालको सम्पर्क विहीन हुनु भएको कुरा पुष्टि गर्दै भन्नुभयो, “वडा अध्यक्ष वराल केही समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुझ्दै आउनु भएको थियो र औषधि सेवन गरिरहनु भएको थियो। वर्षातका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा आवश्यक औषधि लिन समय नपाएको कारण बुधबार बिहानदेखि सम्पर्क बिहीन हुनु भएको हो।”
वडा अध्यक्ष वराल नेकपा माओवादी केन्द्रबाट २०७९ सालको चुनावमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो।