• १९ भदौ २०८२, बिहिबार

गुल्मीमा साहसिक खेलप्रति आर्कषण बढ्दै

blog

मदाने गाउँपालिकाले–७ भनभनेको रोल्मा तिखेचुलीको जिपलाइन र स्काई साइक्लिङ्ग । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), भदौ १९ गते । पछिल्लो समय गुल्मीका स्थानीय तहमा साहसिक खेलप्रतिको आर्कषण बढ्दै गएको छ ।

मदाने गाउँपालिकाले वडा नं ७ भनभनेको रोल्मा तिखेचुली पर्यटन पुर्वाधार अन्तरगत जिपलाइन र स्काई साइक्लिङ्गसहित करिव तीन करोडका पर्यटकीय पुर्वाधार निर्माण गरेको छ । 

मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवँरले सालझण्डी–ढोरपाट सडक, मदनभण्डारी राजमार्ग र पहुँच मार्गको नजिक र पर्यटकीय क्षेत्र कंके देउरालीकै क्षेत्र भएकाले दुवैलाई जोडेर पर्यटन प्रर्वद्धन गर्ने योजना रहेको बताउनुभयो ।

गुल्मी, अर्घाखाँची र प्युठानको सिमा नजिकै भनभनेको रोल्मा तिखेचुली पर्यटन क्षेत्र पर्ने भएकाले जिपलाइन र स्काई साइक्लिङ्ग व्यवसायीक रुपमा पनि सफल हुने अपेक्षा गरिएको मदाने गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो ।

३२० मिटर जिपलाइन र ९० मिटर डवल स्काई साइक्लिङ्ग अर्घा कन्स्ट्रक्सन प्रालि अर्घाखाँचीले ७४ लाख २५ हजार २९२ रुपियाँमा २०८२ बैशाख ३० गते निर्माण सम्झौता गरेर निर्माण गरेको निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

 छत्रकोट गाउँपालिकाले करिव एक बर्षदेखि जिपलाइन संचालनमा गरेको छ । छत्रकोट गाउँपालिका–३ का दुई महत्वपूर्ण धार्मिक स्थल छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरेर एक हजार ८० मिटर लामो जिपलाइन निर्माण गरिएको छ । ‘रुरु रेसुंगाको धार्मिक आश, छत्रकोटमा बसौँ बास‘ भन्ने नाराका साथ छत्रकोटले पर्यटकीय विकासका योजनाहरु समावेश गरेको छ ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र ग्रामिण पर्यटन बिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भएकाले नयाँ पुस्ताले रुचाएको खेल जिपलाइन संचालन गरिएको बताउनुभयो । गाउँपालिका र लुम्बिनी प्रदेशको समपुरक ८६ लाख ७३ हजार एक सय ४४ रुपियाँ बजेटबाट सानु सेतीदेवी कन्स्ट्रक्सन प्रालिले जिपलाइन निर्माण गरेको थियो । 

त्यस्तै रेसुङ्गा नगरपालिकाले गर्जुरा क्षेत्रमा खनाल एन्फ्रा प्रालिले एक करोड २५ लाख रुपियाँको लागतमा जीपलाइन र स्काई साइक्लिङ्गको काम सुरु गरेको छ । जिपलाइन ४२५ र स्काई साइक्लिङ्ग १८० मिटर लामो हुने नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । 

धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गालाई पर्यटकीय दृष्टिकोणले थप विकास गर्न जीपलाइन र स्काई साइक्लिङ्ग निर्माणको काम अगाडी बढेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

उहाँले गर्जुरा पार्क, रेसुङ्गामा निर्माण भएका संरचना, पक्की सडक तथा ‘जाउँ हिड रेसुङ्गा’ अभियानले पर्यटकहरुको सख्या ह्वात्तै बढेको दाबी गर्नुभयो ।

रुरुक्षेत्र गाउँपालिकाले स्याङजाको कालिगण्डकी गाउँपालिकासँग साझेदारीमा रिडीको देवदक्तपार्कबाट स्याङजाको हनुमानबाटिका जोड्ने गरेर जिपलाइन निर्माणको लागि डिपिआर तयार गरिएको छ ।