नौरते नेपाली
सिँजा (जुम्ला), भदौ १९ गते । जुम्लामा उत्पादन हुने स्याउको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक काठमाडाैंमा ‘कर्णाली स्याउ उत्सव’ हुने भएको छ । उत्सव मार्फत कर्णालीका स्याउलाई देशव्यापी चिनाउने, बजार विस्तार गर्ने र किसानलाई लाभ हुने वातावरण बनाउन ‘कर्णाली स्याउ उत्सव’ हुने भएको हो ।
यही भदौ २० गतेदेखि २२ गतेसम्म काठमाडाैंको शङ्खमूलस्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म उत्सव सञ्चालन हुने आयोजक कर्णाली घरका अध्यक्षले गोविन्द सुनारले जानकारी दिनुभयो ।
कला घरको आयोजना र कर्णाली घरको सह–आयोजनामा हुने उक्त उत्सवमा कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने स्याउ र स्याउजन्य परिकार प्रदर्शनीमा राखिनेछन् ।
उत्सवमा रेड डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजी लगायत दर्जन भन्दा बढी प्रजातिका स्याउ प्रदर्शनीमा राखिनेछन् । साथै, सुकाएको चाना, साइटर र ब्रान्डी लगायतका परिकार पनि प्रदर्शन गरिने सुनारले जानकारी दिनुभयो ।
प्रदर्शनी र अवलोकन मात्र नभई उपभोक्ताले आफ्ना आवश्यकता अनुसार प्रत्यक्ष खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । कर्णालीको स्याउ स्वादका दृष्टिले देशभर परिचित भए पनि यसको बजार खपत बढाउन र ब्राण्डको रूपमा स्थापित गर्न पहिलोपटक औपचारिक रूपमा यस्तो उत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
स्याउसँगै कर्णाली प्रदेशको मौलिक संस्कृति पनि उत्सवको मुख्य आकर्षण हुने जनाइएको छ । यस क्रममा धामी नाच, हुड्के नाच, मागललगायत सांस्कृतिक प्रस्तुतिहरू देखाइनेछन् । आयोजकले कार्यक्रम अवलोकन गर्न इच्छुक सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ ।