• १९ भदौ २०८२, बिहिबार

‘वैकल्पिक सोच’ पुस्तक लोकार्पण, वैकल्पिक राजनीतिमा नयाँ दृष्टिकोण

blog

डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ पुस्तक विमोचन गरिँदै ।

काठमाडौँ,  भदौ  १८ गते । डा. राजेन्द्र केसीद्वारा लिखित कृति “वैकल्पिक सोच” बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। विचार, व्यवहार, व्यवस्थापन र विश्लेषण—यी चार पक्षलाई फरक तर परस्पर सम्बन्धित ढाँचामा प्रस्तुत गरिएको पुस्तकले वैकल्पिक राजनीति र व्यवस्थापनका विभिन्न पक्षलाई नयाँ दृष्टिकोणबाट विश्लेषण गरेको छ।

पुस्तक लोकार्पण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लेखकको मौलिक अनुभवले पुस्तकलाई अर्गानिक स्वरूप दिएको बताउनुभयो। उहाँले आर्थिक समृद्धिका लागि सही नीति, नियत र नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै “वैकल्पिक सोच” ले आन्तरिक लोकतन्त्र र लिबरल डेमोक्रेसीलाई सुदृढ बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक वैकल्पिक राजनीतिज्ञका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले “आजको समाजमा परम्परागत ढाँचामा मात्रै अड्किनु हुँदैन, नयाँ दृष्टि र वैकल्पिक सोच आवश्यक छ, यही पुस्तकले त्यही बाटो देखाएको छ” भन्दै सबैलाई अध्ययन गर्न आग्रह गर्नुभयो।

प्रकाशक  भूपेन्द्र खड्काले “वैकल्पिक सोच” ले व्यक्तिगत जीवनका सामान्य समस्यादेखि व्यवस्थापनका जटिल प्रश्नसम्मका लागि वैकल्पिक उपाय खोज्ने दृष्टिकोण प्रदान गरेको बताउनुभयो।

राष्ट्रिय संस्कार धाम, नेपालका प्रवक्ता विजयकुमार पन्तले पुस्तक वैकल्पिक राजनीतिको साझा दस्तावेज (ब्लुप्रिन्ट) बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले लोकप्रियतावादमा मात्र नअड्किनुपर्ने र नयाँ पार्टी बनाउने प्रतिस्पर्धा भन्दा मौलिक राजनीतिको अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, पूर्वसहायक रथी तथा प्रकृति संरक्षणविद् बाबुकृष्ण कार्कीले पुस्तकले पर्यावरण र प्रकृति संरक्षणलाई समेत विशेष स्थान दिएको बताउनुभयो। विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटाले परिवर्तनको संवाहक आफैं बन्नुपर्ने लेखकको जोडले सबैलाई वैकल्पिक राजनीतिप्रति प्रेरित गरेको उल्लेख गर्नुभयो। नागरिक शक्ति पार्टीका अध्यक्ष एवं वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पुस्तकले मौलिकता, राष्ट्रवाद र आर्थिक समृद्धिलाई आधार बनाएर वैकल्पिक राजनीतिज्ञहरूलाई बाटो देखाउने विश्वास व्यक्त गर्नुभयो।

लेखक डा. राजेन्द्र केसीले “वैकल्पिक सोच” कसैलाई तोड्ने नभई जोड्ने उद्देश्यले लेखिएको बताउनुभयो। उहाँले यसले व्यक्तिगत मात्र नभई संस्थागत र सामाजिक रूपान्तरणलाई पनि गति दिने विश्वास व्यक्त गर्दै सोच, व्यवहार, व्यवस्थापन र विश्लेषणमा नवीन अभ्यास गर्न पाठकलाई प्रेरित गर्ने प्रयास गरिएको जानकारी दिनुभयो।

समारोहमा नेपाली सेनाका पूर्वरथी, नेपाल प्रहरीका पूर्वआइजिपी तथा एआइजी, पूर्वसचिव, कलाकार, शिक्षाविद्, अनुसन्धानकर्ता, सञ्चारकर्मी, विभिन्न सङ्घ–संस्थाका पदाधिकारी, कर्पोरेट क्षेत्रका प्रमुखलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले पुस्तकलाई व्यवहारिक जीवन र व्यवस्थापनका लागि मार्गदर्शक कृति भएको भन्दै प्रशंसा गर्नुभएको थियो।

बुकहिल प्रकाशनमार्फत प्रकाशित “वैकल्पिक सोच” देशभरका पुस्तक पसल र अनलाइन प्लेटफर्ममार्फत उपलब्ध हुने जनाइएको छ।