• १८ भदौ २०८२, बुधबार

यु–२३ एसियन कप छनोट

नेपाल ताजकिस्तानसँग खेल्न तयार

blog

खेलअघि आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षकहरू ।

काठमाडौँ, भदौ १७ गते । एएफसी यु–२३ एसियन कप छनोट खेल बुधबार देखि ताजकिस्तानमा सुरु हुँदैछ ।

छनोट खेल खेल्न दुई दिनअघि ताजकिस्तान पुगेको नेपालले बुधबार समूहको पहिलो खेलमा घरेलु टोलीको सामना गर्ने छ । नेपाली टोलीका प्रशिक्षक नविन न्यौपानेले खेलअघि मङ्गलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा आफ्नो टोली ताजकिस्तानसँग खेल्न तयार रहेको बताउनुभयो ।

‘‘हामी छनोट हुने लक्ष्यका साथ आएका छौँ । नेपालको लक्ष्य राम्रो खेल खेल्दै सबै खेलमा जित निकाल्नु हो,’’ न्यौपानेले भन्नुभयो । उहाँले छनोटमा सहभागी सबै टोली बलिया रहेकोले ध्यान दिएर तीन अङ्कका लागि प्रदर्शन गर्ने पनि बताउनुभयो ।

प्रि–म्याच कन्फ्रेन्समा अन्य टोलीका प्रशिक्षकले पनि लक्ष्य छनोट रहेको बताए । छनोटमा नेपाल समूह ‘के’ मा रहेको छ । यस समूहमा आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ । नेपाले दोस्रो खेल सेप्टेम्बर ६ तारिख सिरिया र ९ तारिख फिलिपिन्ससँग खेल्ने छ । 

प्रशिक्षक न्यौपानेले ताजकिस्तान जानुअघिनै आयुष घलानको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । टोलीमा राष्ट्रिय सिनियर टोलीबाट कप्तान घलानसहित कृतिश रत्न छुन्जु, निराजन धामी र सुमित श्रेष्ठ चार जना हुनुहन्छ ।

टोलीको गोलरक्षकमा कृशाल मोक्तान, अमित टमाटा र विशाल केसी हुनुहुन्छ । रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लाहान सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारू र सेमन्त थापा रहनुभएको छ । 

मिडफिल्डरमा अभिषेक स्याङतान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ हुनुहुन्छ । स्ट्राइकरमा रोहन खड्गी र निराजन धामी हुनुहुन्छ ।