गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १६ गते । साफ यु–१७ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आइतबार घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको छ ।
यस नतिजासँगै नेपालले छ खेलमा चार अङ्क बनायो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग नै ७–० ले हारेको थियो । त्यसपछि बङ्गलादेशसँग ३–० ले हार बेहोरेको नेपालले घरेलु टिम भुटानलाई २–१ ले पराजित गरेको थियो । सोही जित प्रतियोगितामा नेपालले एक मात्र सफलताका रूपमा रह्यो । दोस्रो चरणमा नेपालले भारतसँग ५–० र बङ्गलादेशसँग ४–१ ले हार बेहारेको थियो । अन्तिम दिन आइतबारै भएको पहिलो खेलमा बङ्गलादेशले च्याम्पियन भारतलाई ४–३ ले स्तब्ध पारेको थियो ।
चार राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोविनका आधारमा भएको हो । भारत एक खेलअगावै सर्वाधिक १५ अङ्क बनाएर च्याम्पियन बनेको थियो । बङ्गलादेश १३ अङ्कका साथ दोस्रो र नेपाल तेस्रो स्थानमा रहे । नेपालको च्याम्पियन बन्ने होड दुई खेलअघि नै सकिसकेको थियो । घरेलु टिम भुटान दुई अङ्कसहित पुछारमा रह्यो ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपालका लागि बबिता कार्की र भुटानका लागि सोनाम याङचिनले गोल गर्नुभयो । खेलको १५ औँ मिनेटमा बबिताको गोलमार्फत नेपालले अग्रता लिएको थियो । कप्तान भूमिका बुढाथोकीको क्रसमा डिबक्सभित्र बिनानिगरानीमा रहेकी बबिताले सटिक प्रहारमार्फत गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सोनम याङचिनले बराबरी गोल गर्नुभयो । उहाँले कर्नरबाट आएको बललाई गोलपोस्टमा छिराउनुभएको हो ।
सो खेलमा प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो पटक डिफेन्डर दीक्षा रायमाझीलाई पहिलो रोजाइमा खेलाउनुभएको थियो ।