गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १६ गते । तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा मातृ भाषाको प्रवर्धनको उद्देश्यले प्रकाशित तामाङ भाषाको पत्रिका याम्बुलिङको लोकार्पण गरिएको हो । प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालका सबै भाषा नेपाली भाषा हुन्, उपत्यका वरिपरि बसोबास गर्ने तामाङ भाषाको प्रवर्धनका लागि लेख्य परम्परा कायम होस् भन्ने लक्ष्यले याम्बुलिङ प्रकाशन गरिएको बताउनुभयो । उहाँले भाषा जोगाउन प्रतिष्ठानले गरेको यस्तो प्रयासले टेकोको काम मात्र गर्छ तर समुदायले पनि भाषा जोगाउने अभ्यासका लागि काम निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका साहित्य, मातृभाषा विभाग प्रमुख राजन मुकारुङले याम्बुलिङसमेत प्रतिष्ठानले आठ वटा मातृभाषामा पत्रिका प्रकाशनका लागि सहयोग गरेको जानकारी दिनुभयो । उहाँले मोरङ, झापालगायतका क्षेत्रमा बोलिने तर लोपोन्मुख अवस्थामा रहेका १० वटा भाषाको एउटा पत्रिका प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानमा बजेट न्यून भए पनि मातृभाषा संरक्षणका लागि हौसला दिन मातृभाषामा पत्रिका प्रकाशन भइरहेको बताउनुभयो । याम्बुलिङका कार्यकारी सम्पादक इन्द्र तामाङले प्रतिष्ठानले तामाङ भाषा संरक्षण, प्रवर्धनका लागि याम्बुलिङ प्रकाशनको अवसर प्रदान गरेकोमा सम्पूर्ण समुदायका तर्फबाट कृतज्ञता ज्ञापन गर्नुभयो ।