• १६ भदौ २०८२, सोमबार

धुमधामसँग गौरा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर बसोबास गर्दै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले धुमधामका साथ आइतबार गौरा पर्व मनाएका छन् । प्रशंसा संरक्षण समूहले टुँडिखेलमा आयोजना गरेको गौरा मेलामा भेला भएका हजारौँ सुदूर र कर्णालीका बासिन्दाले त्यहाँको कला तथा सांस्कृतिक नृत्यसहित गौरा नाच र देउडा खेलेर यो पर्व मनाएका हुन् ।

गौरा पर्व भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म मनाउने प्रचलन रहेको पाइन्छ । गौरा पर्वको सुरुवात बिरुडा अर्थात् पाँचथरीका गेडागुडी भिजाउने र महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गरी बिरुडालाई प्रसादका रूपमा ग्रहण गरी सुख, शान्ति र समृद्धिको कामनासहित मनाउने गरिन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाएपछि गौरा पर्वको सुरुवात हुने गरेको छ । यस दिनलाई सुदूरपश्चिममा बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

बिरुडा भिजाएको दोस्रो दिन महिलाले पानीको मुहानमा गएर शुभ साइतमा बिरुडा धोएर गौरी देवीको प्रतिमामा चढाउने चलन रहेको छ । शिव र गौरीको नामसँग जोडिएको यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजा गरिन्छ ।

सप्तमीमा गौरीदेवीलाई मन्दिरमा भित्र्याएर प्रसादका रूपमा विवाहित महिलाले पुरुषको जनै जस्तै घाँटीमा दुबधागो धारण गर्ने चलन छ । त्यस्तै गरी अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । धान, तिल, साउँ आदि बिरुवाबाट प्रतिमा बनाएर गौरा घरमा भित्र्याएकी गौरीदेवीलाई बिरुडा, फलफूल, पाती, अक्षता आदिले बिसर्जन नगरिएसम्म पूजाअर्चनाका साथ महिला र पुरुषले स्थानीय लोकभाकामा डेउडा, फाग, धमारी आदि खेल खेली गौरा मनाउने गरेका छन् ।