गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौँ १६ गते । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यलाई प्रलोभनमा पारी भारतमा लगेर अवैध रूपमा मिर्गौला झिक्ने मानव तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी–२ का श्यामकृष्ण भण्डारी र सुजन भारतीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका भण्डारी र भारती मानव अङ्ग तस्करीको सङ्गठित मिलेमतोमा नेपालीलाई भारतमा पु¥याएर मानव अङ्ग तस्करीमा संलग्न रहेको खुलेको छ । विभिन्न जिल्लाका आर्थिक अवस्था कमजोर भएका नेपालीलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा मिर्गौला झिकेको सूचनापछि ब्युरोले ‘अवैध अङ्गको व्यापारबाट जीवनको रक्षा’ भन्ने नाराका साथ ‘अपरेसन लाइफ सिल्ड’ सञ्चालन गरेको थियो । अपरेसनका क्रममा पाँच जना पीडित फेला परेपछि ब्युरो गिरोहसम्म पुग्न सफल भएको हो । पक्राउ परेका मुख्य योजनाकार भण्डारी लामो समयदेखि भारतमा मिर्गौला तस्करी गिरोहसँग मिलेर नेपालीलाई त्यहाँसम्म पु¥याउने गरेको खुलेको छ । ब्युरोको प्रारिम्भक बयानमा भण्डारीले हालसम्म २५ जनाको मिर्गौला झिकेको स्वीकार गरेको ब्युरोले जनाएको छ ।
भण्डारीका मुख्य सहयोगी भारती र गिरोहका सदस्य राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपाली पनि पहिला आफैँ पीडित रहेको र पछि गिरोहमा लागेको बताइएको छ । यसै गिरोहमा संलग्न सविन पन्त र राजकुमार तामाङ पनि पक्राउ परेका छन् । यो गिरोहले कतिपय पीडितलाई छ लाख भारतीय रुपियाँ दिने भनी प्रलोभन देखाएर दिल्ली पु¥याई मिर्गौला झिक्ने र कतिपयलाई रकम नदिइकन नेपाल फिर्ता पठाउने गरेकोसमेत पाइएको छ ।
२०८१ साउनमा यही गिरोहले काठमाडौँबाट दुई जना दम्पतीलाई भारत लगेको र एक हप्तासम्म बेहोस पारी मिर्गौला झिकेर घाइते अवस्थामै नेपाल फर्काएको खुलेको छ । भण्डारी र भारतीसहित पक्राउ परेका सात जनाविरुद्ध चार वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । अवैध अङ्ग प्रत्यारोपणसम्बन्धी कसुरमा ब्युरोले पछिल्लो सात वर्षमा १४ वटा मुद्दा चलाएको छ ।