• १६ भदौ २०८२, सोमबार

एससिओका नेतृत्व तियान्जिनमा

पारस्परिक हितमा गहन विमर्श

blog

जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्व नेतृत्व । तस्बिर: चाइना डेली

करुण अर्याल

बेइजिङ, भदौ १६ गते । जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन एससिओका सदस्य राष्ट्रका प्रमुखलगायत विश्व नेताहरू भेला भएका छन् । सो क्रममा विश्व नेतृत्वबीच पारस्परिक हितका विषयमा औपचारिक  तथा अनौपचारिक रुपमा गहन विमर्श भएको छ ।  सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बोधन गर्नुहुने कार्यक्रम छ । चीनका राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबार नै तियान्जिन पुग्नुभएको थियो । 

यस क्रममा प्रधानमन्त्री ओलीले आइतबार तियान्जिनमा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चीनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल र भियतनामबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ पार्ने र व्यापार र लगानी, विज्ञान र प्रविधि, नवप्रवर्तन, डिजिटलाइजेसन, जलवायु परिवर्तन, खेलकुद, शिक्षा, संस्कृति, साथै हवाई सम्पर्क जस्ता क्षेत्रमा सहयोग विस्तार गर्नेलगायत पारस्परिक हितका विषयमा छलफल भएको छ । साथै उहाँहरूले एकअर्काको देशको भ्रमणका लागि निमन्त्रणा पनि आदानप्रदान गर्नुभएको बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

भेटवार्तामा प्रधानमन्त्री ओलीले हालै मात्र भियतनामका उपराष्ट्रपति भो थी आ सुआनको भ्रमणले दुई देशबिचको सहकार्यलाई अझ बलियो बनाएको बताउनुभयो । उहाँले छोटो अवधिमा भियतनामले गरेको प्रगति सबैका लागि प्रेरक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भियतनामबिच समस्यारहित मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै बौद्ध धर्मका कारण दुई देशको जनस्तरमा बलियो सांस्कृतिक सम्बन्ध कायम भएको उल्लेख गर्नुभयो । 

दुवै देशबिच विभिन्न क्षेत्रमा कनेक्टिभिटीका सम्भावना रहेको बताउँदै प्रधानमन्त्री ओलीले साझा चासोका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै काम गर्ने कुरामा जोड दिनुभयो । भियतनामका प्रधानमन्त्री फामले भियतनामप्रति नेपाली जनताले देखाएको सद्भावका लागि धन्यवाद दिँदै साझा विषयमा सहमतिका साथ अघि बढ्न सकिने बताउनुभयो । 

स्वागत समारोहमा सहभागी

यसै गरी प्रधानमन्त्री ओली प्रथम महिला राधिका शाक्यसहित तियान्जिन मेइजियाङ कन्भेन्सन सेन्टरमा चीनका राष्ट्रपति सी र प्रथम महिला पेङ लियुआनले एससिओ शिखर सम्मेलनमा भाग लिने विश्व नेताको सम्मानमा आयोजना गरेको स्वागत भोज र गाला (अतिथिका लागि गरिने विशेष समारोह) प्रस्तुतिमा भाग लिनुभयो । सोही क्रममा प्रधानमन्त्री ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ । सो भेटबारे प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा तस्बिर राख्दै लेख्नुभएको छ, “नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्त हर्षित छु । भारत–नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ ।”

धान उत्पादन क्षेत्र र सङ्ग्रहालय भ्रमण

त्यसअघि आइतबार बिहान प्रधानमन्त्री ओलीले तियान्जिनको हुवईगाउँस्थित धान उत्पादनको विशेष क्षेत्रको भ्रमण गर्नुभयो । उहाँले सो क्षेत्रमा जेडी ९३९ धानको बिउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमुना कार्यबारे जानकारी लिनुभयो । त्यसैगरी उहाँले नानकाई जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभयो । 

दुवै भ्रमणमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ, बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।

द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेट, लाओसका प्रधानमन्त्री सोनेसाई सिपानडोनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।