काठमाडौँ, भदौ ११ गते । काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि. द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य पदार्थ भेटिएपछि उद्योगमाथि कारबाही गर्दै दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
सिलबन्दी अवस्थामा बिक्री भइरहेको मदिरामा झिँगाजस्तो वस्तु फेला परेपछि उपभोक्ताले महानगर प्रहरीमा उजुरी दिएका थिए । नमुना सङ्कलन गरी परीक्षण गर्दा बोतलभित्र अखाद्य तत्त्व भेटिएको पुष्टि भएपछि जरिवाना गरिएको हो ।
महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार यसलाई अनुचित व्यापारिक गतिविधि मानिएको छ ।
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौँ महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ ।
काठमाडौँ महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।