केशवराज भट्ट
वाशुलिङ (बैतडी), भदौ ११ गते । सुदूरपश्मिकाे प्रमुख सांस्कृतिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ । भदौ १२ गते बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने स्थानीय संस्कृतिविद् आचार्य घनश्याम लेखकले जानकारी दिनुभयो ।
पञ्चमीमा गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाउने परम्परा छ । यसलाई तामाको भाँडामा भिजाएर गौरादेवी र महेश्वरको पूजाआजा गरिने उहाँले बताउनुभयो।
ज्योतिष पण्डित लवदेव भट्टका अनुसार यस वर्षको गौरा भाद्र शुक्ल पक्षमा परेको छ । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन छ । कृष्ण पक्षमा परेको भने अँधेरी गौरा भनिन्छ, उहाँले बताउनुभयो । गौरामा विवाहित महिलाहरु विशेष गरी दुबधागो (गौराधागो) धारण गर्ने परम्परा छ । यो धागोलाई दीर्घायुष्य र पारिवारिक समृद्धिको प्रतीक मानिन्छ, भट्टले बताउनुभयो ।
गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली भदौ १५ गते पर्छ । यस दिन व्रतालु महिलाहरु गाउँको गौरा खलामा गौरादेवीको पूजा गर्दै फाग र सगुन गीत गाउने परम्परा रहिआएको छ । गौरामा गाइने फागले गाउँघर रमाइलो र उल्लासपूर्ण बन्छ ।
बिरुडा चढाएर देवीको पूजा गर्छौं । गाउँका सबैसँगै मिलेर खेल खेल्ने परम्परा कायमै रहेको सुर्नया गाउँपालिका–६ की हरिनाथ अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, (गौरा पर्वको क्रममा ब्रतालु महिलाहरुले धानखेतबाट ल्याइने साँवा, अपामार्ग जस्ता वनस्पति प्रयोग गरी देवीको प्रतिमूर्ति बनाउँछन् । बिरुडा पञ्चमीमा भिजाइएको अन्न षष्ठीका दिन धारा वा कुवामा लगेर धुने चलन छ । अमुक्ताभरण सप्तमीका दिन गौरालाई घरमा भित्र्याइन्छ ।
अठ्यावालीका दिन गौरादेवीलाई पूजा गरी प्रसादस्वरूपको बिरुडाले श्रीमान, छोराछोरी तथा आफन्तजनको टाउको पुज्ने परम्परा रहिआएको छ । यसलाई लामो आयु, आरोग्य र धनधान्य प्राप्तिको कामनासँग जोडिएको मानिन्छ ।
गौरापछि देवीदेवताको गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारीजस्ता खेल खेल्ने परम्परा अझै गाउँघरमा जीवित छ । हाल गाउँबस्तीमा गौराको रौनक सुरु भइसकेको छ । घर बाहिर रहेकाहरु बिदा मिलाएर गाउँ फर्किंदैछन् ।
परदेशी युवाहरु पनि घरतिर फर्कन थालेकाले गाउँमा चहलपहल बढेको छ चाड पर्वमा मात्रै गुन्जायमान बन्ने गाउँहरु अरुबेला रित्ता र उराठ लाग्दा देखिन्छने गरेका दशरथचन्द नगरपालिका ०४ की स्थानीय बृद्धा रुख्वीणि भट्टले दुखेसो गर्नुभयो ।
बैतडीमा पञ्चमीका दिन गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाउने र तामा वा पित्तलको भाँडोमा भिजाउने परम्परा छ ।