काठमाडौँ, साउन २६ गते । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त हुनुभएको छ ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आउनुभएका बुढा पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बन्नुभएको हो ।
यसअघि पहिलो संस्करणमा टोलीको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदिश भट्ट हुनुहुन्थ्यो । यस सिजन बुढालाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिएको हो ।
बुढाले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रूपमा खेल्नुभएको थियो । उहाँ हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा हुनहुन्छ । उहाँले राष्ट्रिय टिमको कोचिङ स्टाफको रूपमा रहेरसमेत काम गरिसक्नुभएको छ । लोकको प्रशिक्षण अनुभवले काठमाडौँ स्पाइकर्सले राम्रो नतिजा हात पार्ने टिमको विश्वास छ ।
नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौँ स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द हुनुहुन्छ । यसअघि अक्सनबाट कविता भट्टलाई अनुबन्ध गरेपनि उहाँ अस्ट्रेलिया गएपछि भुवनेश्वरीलाई राखिएको हो ।