• ३१ वैशाख २०८३, बिहिबार

यादवको हत्यारा पक्राउ गर्न एमालेकाे माग

blog

यादवको तेह्रौ दिनमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा एमालेका नेताहरू स्वजातीय अगुवा र मानव अधिकारवादीहरू । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, साउन २६ गते । लहान नगरपालिका २४ का ८८ वर्षीय ज्येष्ठ नागरिक फनिलाल यादवको हत्यामा संलग्न हत्यारालाई पक्राउ गर्न नेकपा एमाले सिराहाले माग गरेका छन् । 

साउन १४ गते बुधबार राति आफ्नै घर धनगडीमाई नगरपालिका–११ ऋाम चोकमा सुतिरहेको समयमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । १३ पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा एमाले सिराहा इन्चार्ज तथा सङ्घीय सांसद गङ्गा प्रसाद यादव, नेकपा एमाले सिराहा अध्यक्ष अशोक कुमार यादव, धनगडीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतो, सिरहा नगरपालिका प्रमुख नविनकुमार यादव प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी र गोपाल सेवा समिति लहानका उपाध्यक्ष प्रयागलाल यादवले हिजो आइतबार फनिलाल यादवको गृह गाउँमा आयोजित सभामा यस्तो माग गर्नुभयो । 

एमाले सिराहा इन्चार्ज तथा सांसद यादवले धनगडीमाई इलाका प्रहरी कार्यालयभन्दा पाँच सय मिटर दुरी नरहेको आम चोकमा नेकपा एमाले समर्थक ज्येष्ठ नागरिकको हत्या भएको तेह्र दिन बितिसक्दा पनि प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउन नसक्दा सिराहाको शान्ति सुरक्षामा गम्भीर प्रश्न खडा भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "दुई चार दिन अझै प्रर्खिन्छौं, प्रहरीले हत्यारा पक्राउ गर्न नसके नेकपा एमाले सिराहाले कडा आन्दोलनमा जान बाध्य हुनेछ । सिराहामा आएका प्रहरी प्रशासनले शान्ती सुरक्षा दिनुभन्दा आफ्नो कमाइ गर्न अपराधीसँग साँठगाँठ त गरिरहेको छैन भन्ने आशाङ्काका आधारहरू देखिन थालेको छ । यो विषय सङघीय सदनमा पनि उठि सकेको छ ।"

धनगडीमाईमा संस्थागत विद्यालयका बसमा आगजानी, सहकारी कार्यालयमा तोडफोड र हत्या जस्ता घटनाहरु घटिरहे पनि प्रहरी प्रशासनको सक्रियता सन्तोषजनक नरहेको धनगडीमाई नगर प्रमुख महतोले भन्दै हत्यारा पता लगाउन नसके आन्दोलन गर्ने रहर होइन, बाध्यता हुने बताउनुभयो । 

सिराहा जिल्लामा भारतीय सिमानामा भइरहेको मदिरा तस्करी र लागु औषधको ओसारपसार जस्ता शान्ति सुरक्षासँग जोडिएको समस्याबाट जिल्लावासी आक्रान्त भइरहेको नेकपा एमाले जिल्ला अध्यक्ष अशोककुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, "८८ वर्षीय ज्येष्ठ नागरिकको यस्तो क्रुरतापूर्व हत्या गरिएको घटनालाई गम्भीरतापूर्वक नलिई मृतक फनिलाल यादवकै घर परिवारको मानिसलाई बोलाएर शोकको घडीमा तनाव दिइने प्रहरीको क्रियाकलापबाट नेकपा एमाले सिराहा गम्भीर भएको छ । अब धैर्यताको बाँध भत्कियो भने आन्दोलनले ठुलै रूप लिइने छ ।"

यता जिल्ला प्रहरी कार्यालय सिराहाले हत्यार पक्राउ गर्न अनुसन्धान निकै नजिक पुगिसकेको र दुई चार दिनमै हत्यामा संलग्न हत्याराहरू पक्राउ पर्ने जिप्रका सिराहाका प्रवक्ता तथा सूचना अधिकारी नायब उपरीक्षक बीरेन्द्र पासवानले विश्वास दिलाउनुभयो । 

मृतक फनिलाल यादव लहान नगरपालिका-२४ का पूर्व वडाध्यक्ष कमलदेव यादवका पिता हुनुहुन्छ । धनगडीमाई नगरपालिका–११ मा समेत आफ्नो घरमा आएको राति हत्या गरिएको थियो । हत्यारा पक्राउ गरेर कानुनी दायरामा ल्याउन मानव अधिकारवादी सङ्घ संस्था र विभिन्न राजनीतिक दलहरूले समेत माग गरिरहेका छन् । ८८ वर्षीया ज्येष्ठ नागरिकको यसरी निर्ममतापूर्व हत्या गरिएको सिराहाको पहिलो घटना हो ।