• ३१ वैशाख २०८३, बिहिबार

स्थानीय तहमा एक अर्ब पच्चिस करोड बेरुजु

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन २६ गते । रुकुमपश्चिमका स्थानीय तहमा प्रचलित कानुनबमोजिम रित नपुर्‍याई कारोबार गरेको आर्थिक रकमको कारण हरेक वर्ष बेरुजु बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार यहाँका छ वटा स्थानीय तहको अद्यावधिक बेरुजु रकम एक अर्ब २५ करोडभन्दा बढी पुगेको छ । 

महालेखा कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आव २०७९/८० सम्म जिल्लाका छ वटै पालिकाको कुल बेरुजु एक अर्ब २० करोड ८४ लाख ४२ हजार रुपियाँ रहेको थियो । उक्त रकममध्ये आव २०८०/८१ मा नौ करोड १५ लाख ३६ हजार २३७ रुपियाँ फस्र्योट भएको थियो । आव २०८०/८१ मा मात्रै १३ करोड ८९ लाख १६ हजार ८१७ रुपियाँ बेरुजु थप भएपछि कुल बेरुजु रकम एक अर्ब २५ करोड ५८ लाख २२ हजार ५८० रुपियाँ पुगेको हो । 

प्रतिवेदन अनुसार चौरजहारी नगरपालिकाको हालसम्मको बेरुजु ३० करोड ६० लाख ६५ हजार ५७ रुपियाँ पुगेको छ । अघिल्लो आव २०७९/८० सम्म २९ करोड ४८ लाख ६८ हजार रुपियाँ बेरुजु रहेको यस पालिकामा आव २०८०/८१ मा एक करोड ४६ लाख २१ हजार ५५२ रुपियाँ थप हुन आएको हो । यस वर्ष ३४ लाख २४ हजार ४९५ रुपियाँ चौरजहारीले फस्र्योट गरेको छ । आव २०७९/८० सम्म २६ करोड सात लाख २६ हजार बेरुजु रहेको आठबिसकोट नगरपालिकाको बेरुजु आव २०८०/८१ मा तीन करोड ६९ लाख ८३ हजार १२८ रुपियाँ थप भएको छ । यस वर्ष दुई करोड ३१ लाख ६९ हजार ५०४ रुपियाँ फस्र्योट गरेपछि आठबिसकोटको अद्यावधिक बेरुजु २७ करोड ४५ लाख ३९ हजार ६२४ रुपियाँ पुगेको छ । 

त्यसै गरी मुसीकोट नगरपालिकाको अद्यावधिक बेरुजु २० करोड सात लाख ८६ हजार ५८९ रुपियाँ देखिएको छ । आव २०७९/८० सम्म १७ करोड २१ लाख २० हजार रुपियाँ रहेको यस पालिकामा आव २०८०/८१ मा दुई करोड ३९ लाख १४ हजार ६४२ रुपियाँ बेरुजु थप भएको हो । यस वर्ष मुसीकोटले १२ लाख ४८ हजार ५३ रुपियाँ फस्र्योट गरेको छ । प्रतिवेदनमा त्रिवेणी गाउँपालिकाको कुल बेरुजु २२ करोड १९ लाख आठ हजार ६५६ रुपियाँ औँल्याइएको छ । अघिल्लो आव २०७९/८० सम्म २० करोड १४ लाख २२ हजार रुपियाँ रहेको यस पालिकामा आव २०८०/८१ मा दुई करोड चार लाख ८६ हजार ६५६ रुपियाँ बेरुजु थप भएको छ । 

आव २०७९/८० सम्म १६ करोड ७८ लाख ६८ हजार रुपियाँ बेरुजु रहेको बाँफीकोट गाउँपालिकामा आव २०८०/८१ मा दुई करोड ६८ लाख ८३ हजार १९ रुपियाँ थपिएको छ भने छ करोड ३३ लाख ४१ हजार ४१५ रुपियाँ फस्र्योट गरेको छ । महालेखाको प्रतिवेदन अनुसार यस पालिकाको अद्यावधिक बेरुजु १३ करोड १४ लाख नौ हजार ६०४ रुपियाँ रहेको छ । सानीभेरी गाउँपालिकामा कुल १२ करोड ११ लाख १३ हजार ५० रुपियाँ बेरुजु औँल्याइएको छ । अघिल्लो आव २०७९/८० सम्म १० करोड ५४ लाख ३८ हजार रुपियाँ रहेको यस पालिकामा आव ०८०/८१ मा एक करोड ६० लाख २७ हजार ८२० रुपियाँ बेरुजु थप भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष सानीभेरीले तीन लाख ५२ हजार ७७० रुपियाँ मात्र फस्र्योट गरेको छ । 

बेरुजु रकम बारेमा चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले बेरुजु निस्कँदैमा आर्थिक हिनामिना भन्न नमिल्ने र यसलाई जतिसक्दो छिटो नियमित गर्न आवश्यक रहेको बताउनुभयो ।