• २६ साउन २०८२, सोमबार

सिमकोट–खार्पु सडक सत्र दिनदेखि अवरुद्ध

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २६ गते । कर्णाली कोरिडोर अन्तर्गत पर्ने सिमकोट–खार्पु सडक विगत सत्र दिनदेखि अवरुद्ध हुँदै आएको छ । सो खण्डमा पर्ने मैनागाडा सडक पहिरोले पुरिएपछि यातायात सेवा अवरुद्ध हुँदै आएको हो ।

सिमकोट–खार्पु सडकमा यातायात सेवा अवरुद्ध हुँदै आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । सो खण्डको मैनागाडामा सडकको स्तरोन्नति गर्ने क्रममा गत साउन ९ गते बेलुका पचास मिटरमाथिबाट पहिरो आएपछि सडक अवरुद्ध हुँदै आएको उहाँले बताउनुभयो । ५० मिटर सडक पहिरोमा पुरिएपछि यातायात सेवा अवरुद्ध भएको हो । 

अवरुद्ध भएको सडकको मर्मत गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत नवीन शाहीले बताउनुभयो । सडकमा पहिरो जानुका साथै कडा चट्टानसमेत देखिएपछि निर्माणमा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । एक्साभेटरले बकेटबाट चट्टान फुटाउने र सडक सम्याउने कार्य भइरहेको उहाँले बताउनुभयो । सो क्षेत्रमा छदेखि आठ मिटरसम्म सडक चौडा गरिँदै छ । यसले गर्दा लामो समय सडक अवरुद्ध हुँदै आएको हो । सो पहिरोमा एउटा एक्साभेटर पनि पुरिएको थियो । त्यसलाई झिकिसकिएको छ ।