टोपलाल अर्याल
रेसुङ्गा, साउन २६ गते । सन्देश श्रेष्ठ लाखे नाचे । रियान र आदित्य सुनार छडी बने । लाखे खिज्याउने संगम श्रेष्ठ चुम्पाके थिए । आशिष सुनारले झ्याली, अर्जुन कंडेलले सनाई तथा कपिल र दिपेन श्रेष्ठले ढोलक बजाएपछि रुरुक्षेत्र गाउँपालिका ४ र ५ को जनबोध मावि लाखेमय बन्यो । नेवार समुदायमा प्रख्यात नाच विद्यार्थीहरुले देखाएपछि स्थानीय समुदाय पनि खुसी थिए ।
जनबोध माविले चाडपर्व र समुदाय अनुसारका सांस्कृतिक कार्यक्रम विद्यार्थीमार्फत गर्दै प्रदर्शन गर्दै आएको छ । सबै जातजातिको आ–आफ्नो कला र संस्कृतिको सम्मानसहित नयाँ पुस्तालाई अवगत गराउनु शिक्षा भित्रकै काम भएकाले अतिरिक्त क्रियाकलापमा लाखे नाच समावेश गरिएको जनबोध माविका प्रध्यानाध्यापक बामदेव ज्ञवालीले बताउनुभयो ।
प्राविधिकतर्फ कृषि र साधारण गरेर विद्यालयमा ५५६ जना विद्यार्थीले अध्ययन गर्छन् । तिमध्ये १०/१२ प्रतिशत नेवार समुदायका विद्यार्थीहरु रहेको ज्ञवालीले जनाउनुभयो । रुरुक्षेत्र गाउँपालिकाको रिडी, बलेटक्सार, चौतारा, धोवीघाट, बलेचौर रानीबास र टाटिम लगायतका नेवार समुदाय बसोबास गर्छन् । उनीहरुले नागपञ्चमीदेखि तिजको पञ्चमीसम्म लाखे नाच देखाने चलन निकै पुरानो हो ।
जनबोध माविका अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिक्षक कृष्ण प्रसाद ज्ञवालीले दुई वर्षदेखि विद्यार्थीहरु मार्फत तिहारमा देउँसीभैलो र तिजमा नाचगान गर्ने गरिरहेकोमा अहिले लाखे थप गरिएको बताउनुभयो । अब पञ्चेबाजा र भजनको तयारी भइरहेको बताउँदै ज्ञवालीले बिद्यार्थीले सिक्ने काम भने आफ्नै समुदायमा गर्दै आएको बताउनुभयो ।
रिडी, बलेटक्सार, बलेचौर रानीबास र टाटिमका नेवार समुदायले विभिन्न समयमा लाखे प्रर्दशन गर्ने गरेका छन् । बलेचौरका नेवार अगुवा गणेश श्रेष्ठका अनुसार रानीबासमा जनैपूर्णिमामा लाखे नाच, चरा, घोडे, रोपाइँ र गाइजात्राको झाँकीहरु देखाउँदै आएको बताउनुभयो । रानीबासमा मात्रै ८०÷९० घर नेवार समुदाय छन् ।
चित्र बहादुर श्रेष्ठ पुराना लाखेका कलाकार हुनुहुन्छ । उहाँलाई लाखे नाच्न उमेरले दिदैन् । धन बहादुर श्रेष्ठ र बसन्त श्रेष्ठहरुसम्ममा आइपुगेको लाखे नाचलाई युवा र बालबालिकामा हस्तान्तरणको काम आफुहरुले गर्ने अगुवा श्रेष्ठले बताउनुभयो । नेवार समुदायका हरेक पर्व र उत्सवहरुका कला र संस्कृतिमा ५ वर्षको बच्चादेखि ८५ वर्ष उमेर समूहका व्यक्ति सहभागी हुँदै आएका छन् । उहाँले लाखेमा खप्पर लगाएर चोमर नचाउन निकै सकस हुने भएकाले उमेर र जाँगर चाहिने बताउनुभयो । समुदायको जनबोधले विद्यार्थी मार्फत समुदाय अनुसारको कला प्रदर्शनमा खेलेको भूमिका निकै प्रसंसनीय भएको श्रेष्ठले बताउनुभयो ।